सुर्खेत– कर्णाली प्रदेश सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथि माओवादी केन्द्रले असहमति जनाएपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।
प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले योजना बैंकमा समावेश नभएका योजनाहरू बजेटमा ल्याउन खोजिएको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।
माओवादी संसदीय दलको बैठकले जिल्लाबाट सिफारिस भएका योजनाहरू बजेटमा समावेश नगरेसम्म संसद् बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।
यसअघि मुख्यमन्त्री यामलाल कँडेलले योजना सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए ।
आइतबार दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची तय भए पनि माओवादीको असन्तुष्टिपछि बैठक हुन सकेको छैन । कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ ।
तर, सहमति जुट्न सकेको छैन । माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले सोही विषयमा छलफल भइरहेको जानकारी दिए ।
यता, सत्तारुढ एमालेले भने बजेट प्रस्तुत नहुँदै माओवादीले विरोध गर्नु उचित नभएको प्रतिक्रिया दिएको छ । एमाले सांसदले बजेट भाषणपछि पनि असन्तुष्टि राख्न सकिने बताए ।
यसैबीच आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आगामी वर्षको बजेट पारित गरिसकेको सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले जानकारी दिए ।


विश्व खबर 




















