
काठमाडौं– चीनले इस्लामिक राष्ट्र इरानमाथि यहुदी शासित इजरायलले हालै गरेको प्रारम्भिक आक्रमणको कडा निन्दा गरेको छ ।
चीनले उक्त हमला अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन र पाशविक हिंसा भएको टिप्पणी गरेको छ ।
चिनियाँ विदेश मन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य वाङ यीले इजरायली विदेश मन्त्री गिडेन सारसँगको टेलिफोन संवादका क्रममा बेइजिङको स्पष्ट धारणा सार्वजनिक गरेका हुन् ।
वाङले इजरायलको आक्रमण अन्तर्राष्ट्रिय कानुनविपरीत भएको भन्दै त्यसको विरोधमा चीन रहेको बताए ।
उनका अनुसार अहिले इरानको आणविक कार्यक्रमबारे अन्तर्राष्ट्रिय राजनीतिक समाधानको प्रयास भइरहेका बेला भएको यो हमला पूर्ण अस्वीकार्य छ ।
वाङले बल प्रयोगबाट शान्ति सम्भव नहुने उल्लेख गर्दै संवाद र कूटनीतिक उपायहरू नै समस्याको समाधान हुन् भनेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङले इरानी समकक्षी अब्बास अराग्चीसँग समेत टेलिफोन संवाद गरेका छन् ।
सो संवादमा उनले इजरायलले इरानको सार्वभौमिकतामाथि गरेको आक्रमणलाई अमानवीय र हिंसात्मक भन्दै निन्दा व्यक्त गरे ।
इरानको परमाणु क्षेत्रमा लक्षित आक्रमणलाई चीनले आपत्तिजनक ठहर गर्दै वाङले उक्त क्षेत्रमा इरानको संप्रभुताको रक्षा गर्ने संघर्षमा चीनको समर्थन रहने बताए ।
त्यस्तै रुस पनि इरानको पक्षमा उभिएको छ ।
प्रतिक्रिया दिनुहोस्