काठमाडौं— प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा आधा घण्टा पर सरेको छ ।
संसद् सचिवालयका अनुसार विभिन्न दलहरू आन्तरिक छलफलमा व्यस्त रहेकाले बैठक आधा घण्टा पछि सुरु हुने गरी तयारी गरिएको हो ।
आजको बैठकको कार्यसूचीमा राष्ट्रिय सभाबाट आएको ‘पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१’ सहितको सन्देश टेबुल गर्ने उल्लेख छ ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्नेछन् ।
त्यसैगरी उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने कार्यक्रम छ ।
संसद् सचिवालयका अनुसार राजस्व–व्ययमाथिको छलफल आजै प्रारम्भ हुनेछ ।
यता गृहमन्त्री रमेश लेखकको राजीनामा माग र भिजिट भिसा प्रकरण छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले विरोध जारी राख्ने जनाएका छन् ।
यी दुई दलले आज बिहान सभामुखसँगको छलफलमा पनि आफ्ना मागमा अडिग रहेको स्पष्ट पारेका छन् ।
यदि जबरजस्त बैठक सुचारु गरे प्रतिवादमा उत्रिने विपक्षी रास्वपा–राप्रपाको चेतावनी पछि सभामुख देवराज घिमिरेले आधा घण्टा पछि बैठकको समय निर्धारण गरिएको छ ।























