इजरायलले गरेको आक्रमणको जवाफमा इरानले इजरायलको मध्य क्षेत्रमाथि हमला गरेको छ । पछिल्लो आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको तथा १ सय जनाभन्दा घाइते भएको इजरायली आपत्कालीन सेवाहरूले पुष्टि गरेका छन् ।
तेल अभिभ महानगर क्षेत्रभित्र पर्ने बट याममा गरिएको मिसाइल प्रहारमा एउटा भवन प्रत्यक्षरूपमा लक्षित भएको देखिएको छ । घटनास्थलमा उद्दारकर्मीहरू घाइतेहरूलाई भग्नावशेषबाट निकाल्ने प्रयासमा जुटिरहेका छन् ।
इजरायली आपत्कालीन सेवा मगेन डाभिद अदोम (एमडीए)का अनुसार बट याम सहरमा १० वर्षीया बालिका, ६९ वर्षीया महिला र ८० वर्षीया महिलाको मृत्यु भएको छ । करिब १०० जना मानिस घाइते भएका छन् ।
यसैगरी, इजरायली सञ्चारमाध्यमहरूका अनुसार, उत्तर इजरायलको टामरा सहरको एउटा बस्तीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
इजरायली रक्षा बल (आईडीएफ)ले अहिले केही मध्य र उत्तरी क्षेत्रका बासिन्दालाई ‘सुरक्षित ठाउँहरू छाड्न अनुमति’ दिएको जनाएको छ । यसअघि आईडीएफले सतर्कताबारे सूचना पाउनासाथ सुरक्षित ठाउँहरूमा जान र थप सूचना नआएसम्म त्यहीँ बस्न भनेको थियो ।
देशभरका विभिन्न स्थानमा प्रहार भएका मिसाइलहरूको खोज र उद्धारको कामका लागि टोलीहरू पठाइएको आईडीएफले जनाएको छ ।
यता, इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कर्प्सले शनिबार रातिको आक्रमणसम्बन्धी एक वक्तव्य सार्वजनिक गरेको छ ।
कर्प्सका अनुसार, इजरायलका ‘लडाकु विमानको इन्धन उत्पादन गर्ने कारखाना र ऊर्जासम्बन्धी केन्द्रहरू’ लक्षित गरिएका थिए । वक्तव्यमा यदि इजरायली हमला जारी रह्यो भने इरानको प्रत्याक्रमण ‘झन् तीव्र हुने’ भनिएको छ ।
कर्प्सले इरानमाथि प्रहार गरिएका तीन क्रुज मिसाइल, १० ड्रोन र दर्जनौँ साना यूएभी (मानव रहित हवाई सवारी) नष्ट गरिएको दाबी गरेको छ । –बीबीसी


विश्व खबर 


















