काठमाडौं । नेकपा (माओवादी केन्द्र)को शीर्ष तहमा गहिरिँदो असहमति र आन्तरिक बहस पछिल्लो समय पुनः सतहमा आएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको सम्बन्ध अहिले निर्णायक मोडमा पुगेको छ । जेठ ६ गते प्रचण्ड ‘जनतासँग माओवादी’ अभियानअन्तर्गत पश्चिम रुकुम पुगेपछि यो असमझदारी अझै तीव्र बनेको हो ।
रुकुम माओवादी युद्धकालको आधार मानिन्छ । त्यही ठाउँमा पुगेर प्रचण्डले दिएको भाषणले शर्माको मन दुखाएको छ । प्रचण्डले भाषणमा बाबुराम भट्टराई, रामबहादुर थापा ’बादल’, मोहन वैद्य ‘किरण’ लगायतलाई नामै लिएर ‘विचलित साथी’को रूपमा उल्लेख गरे । मञ्चमै बसेका जनार्दन शर्मालाई लक्षित गर्दै उनले पार्टी छाडेका नेताले जनतालाई भ्रमित गर्न नसकेको टिप्पणी गरे ।
यसअघि पनि पार्टी पदाधिकारी बैठकमा प्रचण्डले शर्मालाई ‘चित्त नबुझ्दा पार्टी छोड्न सक्ने’ चेतावनी दिइसकेका थिए । त्यसैले रुकुमको सार्वजनिक कार्यक्रममा भएको अभिव्यक्ति शर्माका लागि झनै पीडादायी बन्यो ।
सार्वजनिक रूपमा आलोचित भएपछि शर्माले मञ्चमै प्रचण्डलाई कटाक्ष गर्दै २०६४ सालको चुनावको सन्दर्भ उठाए र भने, ‘तपाईंको नीतिले भएको हो भने १२० सिट फेरि किन आउँदैन ? पार्टी अरू क्षेत्रमा किन कमजोर भयो, रुकुमजस्तै किन टिकेन ?’
प्रचण्डको आलोचना पछि शर्माको सक्रियता खुम्चिँदै गएको छ । पछिल्ला सार्वजनिक कार्यक्रममा उनको उपस्थिति कम भएको छ । यद्यपि उनी लामो समयदेखि पार्टीभित्र लोकतान्त्रिक पद्धति, सांगठनिक बलियो संरचना र प्रत्यक्ष निर्वाचन प्रणालीको वकालत गर्दै आएका छन् ।
शर्मा नेतृत्वको संगठन विभागमा उनीबाहेक अरू सदस्य छैनन् । सदस्य थप्ने प्रस्ताव पटकपटक गरे पनि कुनै छलफल भएको छैन । उनले महाधिवेशनमा पनि प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने पुरक प्रस्ताव राखेका थिए, जसलाई बहस त गरिएको भए पनि कार्यान्वयन हुन सकेन ।
पार्टीभित्र नेतृत्वमा आलोचना गर्नेहरूप्रति असहिष्णुता बढेको भन्ने आरोप शर्माको छ । ‘औंला उठाउनेले स्थान नपाउने प्रवृत्ति’ मौलाएको भन्दै उनी भन्छन्, ‘नेताको चाकडी गर्ने, स्तुतिगान गाउनेहरूले मात्र स्थान पाउँछन् । प्रश्न गर्नेहरूलाई पार्टी छोड भन्न थालिन्छ ।’
उनको बुझाइमा पार्टीभित्र जनताको सवाल गौण बनिरहेको छ । आन्तरिक लोकतन्त्र कमजोर छ । संगठनभन्दा भीड–सभामा बढी ध्यान दिइँदैछ । उनले पार्टीलाई सांगठनिक अनुशासनमा ल्याउने प्रयास गरे पनि नेतृत्वले तिनलाई प्रोत्साहित नगरेको गुनासो गर्दै आएका छन् ।
२०८१ साल असोजमा तय भएको अनेरास्ववियुको सम्मेलन शर्मा पक्षको बलियो उपस्थितिका कारण सारिएको थियो । पछि माघमा भएको सम्मेलनमा निर्वाचन भयो ।
अधिकांश पदाधिकारी शर्माको पक्षबाट निर्वाचित भए । तर, वाइसिएलको हालै सम्पन्न सम्मेलनमा भने चुनाव टार्दै ३५ पदाधिकारीको सूची घोषणामार्फत टुंग्याइयो । जसले शर्मा असन्तुष्ट बने ।
वाम एकता उनले २०७५ को माओवादी–एमाले एकता प्रक्रियामा प्रमुख भूमिका खेलेका थिए । अहिले पनि उनी वामपन्थी मतदातालाई एकीकृत गर्दै विश्वासपूर्ण नयाँ एकता आवश्यक रहेको बताउँछन् ।
उत्पादनसँग जोडिएको संगठन माओवादीको ऐतिहासिक दस्तावेजले उत्पादन र रोजगारीलाई प्राथमिकता दिनुपर्ने भने पनि व्यवहारमा लागू नभएको उनको आरोप छ । उनी भन्छन्, ‘हाम्रो पार्टीका अधिकांश कार्यकर्ता बेरोजगार छन् । माओवादीको प्रत्येक सदस्य आत्मनिर्भर बन्नुपर्छ ।’
शर्माले बारम्बार भनेका छन्, ‘पार्टीले अहिलेको प्रवृत्ति सुधार नगरे विद्यमान मोडलले माओवादीको भविष्य सुनिश्चित गर्दैन । जनताको साथ पाउन सांगठनिक जीवन सुधार, नेतृत्व चयनमा निर्वाचन र कार्यकर्तालाई आत्मनिर्भर बनाउने कार्यक्रम आवश्यक रहेको उनको निष्कर्ष छ ।
तर, यतिबेला पार्टी नेतृत्वले यी मागहरूलाई सम्बोधन गर्ने मूडमा देखिँदैन । त्यसैले जनार्दन शर्मा यथास्थितिबाट निराश छन् । उनी अझै पार्टी नछोड्ने अडानमा छन् । तर, सशक्त समीक्षा र सुधार नआए परिवर्तनको विकल्प बाँकी नहुने संकेत दिन थालेका छन् ।























