images
images
  • काठमाडौं जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि हुने

    काठमाडौं – काठमाडौं महानगरपालिका–२६ को आयोजनामा ‘काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२’ आइतबारदेखि हुने भएको छ ।

    काठमाडौँ महानगरपालिका–२६ ले आज यहाँ पत्रकार सम्मेलन गरी आइतबार असार १ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

    पत्रकार सम्मेलनमा वडाअध्यक्ष ख्यामराज तिवारीले समग्र खेल क्षेत्रको विकासका लागि वडाले जिल्लास्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । “वडाभित्र फुटसल, टेबुलटेनिस, बास्केटबल कोर्टलगायतका पूर्वाधार भएका कारण पनि वडाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको हो”, उनले भनने । वडाले खेल क्षेत्रको विकासका लागि चालु आवमा रु. ३५ लाख रकम विनियोजन गरेको वडाअध्यक्ष तिवारीले बताए ।

    प्रतियोगिताका संयोजक एवम् वडा सदस्य प्रवेश श्रेष्ठले आठ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा महानगरपालिकाभित्रका ३२ वटै वडा र काठमाडौँभित्रका अन्य १० नगरपालिकाका खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो । प्रतियोगितामा फुटसल, टेबुलटेनिस, तेक्वान्दो र करातेका दुई विधा गरी पाँच विधामा प्रतियोगिता हुने उनले बताए ।

    प्रतियोगिताअन्तर्गत फुटसल विधामा प्रथम हुने टोलीलाई रु. एक लाख ५० हजार, उपविजेतालाई रु. ७५ हजार र उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही रु. १० हजारका दरले प्रदान गरिनेछ ।

    यसैगरी, तेक्वान्दोमा प्रथम, द्वितीय र तृतीय टोलीलाई क्रमशः रु. ७५ हजार, रु. ५० हजार र रु. २५ हजार तथा उत्कृष्ट खेलाडीलाई रु. १० हजार प्रदान गरिनेछ । महिला तथा पुरुष टेबुल टेनिसतर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. २० हजार, १० हजार र पाँच हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताए ।

    यस्तै, डब्लुकेएफ कराते प्रतियोगिताको महिलातर्फ प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः रु. ३० हजार, रु. १५ हजार र रु. १० हजार प्रदान गरिनेछ भने टोली विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु. ५० हजार, रु. २५ हजार र रु. २० हजार प्रदान गरिने जनाइएको छ । करातेको आइकेयुतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु. १० हजार, रु. आठ हजार, रु. छ हजार र रु. पाँच हजार प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images