
काठमाडौं । २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकपमा छनोट भएसँगै नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईआईसीसी) ले टी–२० आई खेल्न मान्यता दियो । तर, नेपालले आईसीसीका पूर्ण सदस्यसँग द्विपक्षीय शृंखला खेल्न ११ वर्ष कुर्नु परेको छ । यसअघि नेपालले आफू जस्तै एसोसिएट्स टिमसँग द्विपक्षीय खेल खेले पनि टेस्ट मान्यता प्राप्त टिमसँग द्विपक्षीय शृंखला खेल्ने अवसर पाएको थिएन ।
बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले दुईपटकको ओडीआई र दुईपटकको टी–२० विश्वकप जितेको क्यारेबियन टिम वेस्टइन्डिजसँग द्विपक्षीय शृंखलाको खेलतालिका सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर २७, २७ र ३० मा नेपाल र वेस्टइन्डिजबीच खेल हुनेछ । नेपाली क्रिकेटमा यो शृंखला ऐतिहासिक मानिएको छ । क्यानका सचिव पारस खड्काले नेपालको क्रिकेट यात्राका लागि यो शृंखलालाई ऐतिहासिक कोशेढुंगा भनेका छन् । किन पनि यो ऐतिहासिक हो भने हालसम्म नेपालले खेल्न लागेको यो सबैभन्दा ठूलो द्विपक्षीय शृंखला हो । यसअघि नेपालले दुईपटक टी–२० विश्वकप खेल्दा आईसीसीका पूर्ण सदस्यसँग टी–२० आई खेल्ने मौका पाएको छ । यस्तै ओडीआई विश्वकको ग्लोबल छनोटमा पुग्दा वेस्टइन्डिज र जिम्बाब्बेसँग तथा एसिया कप खेल्दा भारत र पाकिस्तानसँग ओडीआई खेल्ने मौका पाएको थियो ।
क्यानका प्रवक्ता छुम्बि लामा वेस्टइन्डिजसँगको शृंखला नेपालका लागि महत्त्वपूर्ण रहेको बताउँछन् । उनले भने, ‘नेपालले यसअघि गरेका वैदेशिक टुरमा यो सबैभन्दा ठूलो र महत्वपूर्ण हो । यसअघि हामीले टेस्ट टिमसँग द्विपक्षीय शृंखला खेल्ने अवसर पाएका थिएनौँ ।’
नेपालले पहिलोपटक वेस्टइन्डिजसँग द्विपक्षीय शृंखला खेल्न लागेको मात्र होइन, यसको होस्ट पनि नेपाल नै हो । क्यानको आग्रहमै क्रिकेट वेस्टइन्डिजले द्विपक्षीय शृंखलाका लागि समय दिएको हो । तर, आयोजक नेपाल हुँदा पनि खेल कीर्तिपुर वा मूलपानीमा भने हुने छैनन् । खेल न्युट्रल भेन्युमा हुनेछ । खेल यूएईको शारजहाँ मैदानमा हुनेछन् । नेपाल आयोजक भए पनि नेपालमा खेल आयोजना गर्न नसक्नुमा पूर्वाधार मुख्य कारण रहेको क्यानले बताएको छ । प्रवक्ता लामाले भने, ‘खेल नेपालमै नहुनुमा तीन–चार कारण छन् । एक उहाँहरू (वेस्टइन्डिज) को आग्रह हो । ट्रभालको कुरा छ । पूर्वाधार मुख्यकुरा हो ।’
अहिले कीर्तिपुर मैदानको स्तरउन्नोतिको काम चलिरहेको छ । शृुंखला हुने आगामी सेप्टेम्बरसम्म त्यो काम पूरा भएर खेल आयोजना गर्न सकिने अवस्थामा हुन्छ वा हुँदैन, ठेगान छैन । लामा भन्छन्, ‘हामीसँग पूर्वाधार नै छैन त भन्न मिलेन । तर, हाम्रो मैदानमा काम चलिरहेको छ । त्यसैले पनि शारजहाँमा गर्नुपर्ने अवस्था आयो ।’
हरेक देशका एक टिम हुने भए पनि वेस्टइन्डिज भने कुनै एक देशको टिम होइन । यो क्यारेबियन टापु देशहरूको साझा टिम हो । यो टिमममा सातवटा मुलुक समेटिएका छन् । एन्टिगुवा एन्ड बर्बुडा, बार्बाडोस, डोमिनिका, ग्रेनेडा, गुयना, जमैका र सेन्ट लुसिया मिलेटर वेस्टइन्डिज क्रिकेट बोर्ड बनेको छ ।
कुनैबेला ब्रिटिस कोलोनी रहेका यी मुलुकहरूले क्रिकेटलाई अंग्रेजमाथि जितको रुपमा लिन्थे । सन् १९७४ र १९७८ को ओडीआई विश्वकप वेस्टइन्डिजले जितेको थियो । त्यसपछि विश्वक्रिकेटमा वेस्टइन्डिजको दबदबा कायम भएको थियो । क्रिकेटको सबैभन्दा पछिल्लो प्रारुप टी–२० त वेस्टइन्डिजका लागि खेलाडीका लागि वरदान सावित भएको छ । वेस्टइन्डजले टी–२० विश्वकप पनि दुईपटक जितेको छ । र विश्वभर आयोजना हुने फ्रेन्चाइज टी–२० लिगमा वेस्टइन्डिजका खेलाडीहरुको माग हुने गर्छ । र दबदबा पनि उनीहरुकै हुन्छ ।
प्रतिक्रिया दिनुहोस्