
काठमाडौं । गत वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर(मुद्रास्फीति) २.७७ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ४.४० प्रतिशत थियो ।
सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर १.५२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.४५ प्रतिशत छ । गत वर्षको सोही अवधिमा यी समूहहरुको मूल्यवृद्धिदर क्रमशः ६.४१ प्रतिशत र ३.०९ प्रतिशत रहेको थियो ।
गत वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ११.०८, फलफूलको ६.१५, दाल तथा गेडागुडीको ५.१७ र गैर–मदिराजन्य पेय पदार्थको ४.७० प्रतिशतले बढेको छ । तर तरकारी उप–समूहको मूल्यवृद्धिदर ८.११, मरमसलाको २.२० र माछा तथा मासुको ०.४८ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ९.०४, शिक्षाको ५.८८, कपडाजन्य तथा जुत्ता चप्पलको ५.२३, फर्निसिङ तथा घरायसी उपकरणको ३.९९ र रेस्टुरेन्ट तथा आवास सेवाको ३.१६ प्रतिशतले बढेको प्रतिवेदनले औल्याएको छ ।
प्रतिक्रिया दिनुहोस्