images
images
  • दबाब र प्रभावबाट माथि उठेर काम गर्न धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन

    काठमाडौं – कसैको दबाब प्रभावमा नपर्न र त्यसबाट माथि उठेर काम गर्न उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएका हुन् ।

    आइतबार बोर्डको ३३औँ वार्षिकोत्सव कार्यक्रममा अर्थमन्त्री पौडेलले राम्रो गर्नेलाई प्रोत्साहन र गल्ती गर्नेलाई दण्डित गर्ने नीति अबलम्बन गर्न बोर्डलाई निर्देशन दिएका हुन् ।

    ‘पुँजी बजारको विकास र विस्तारमा धितोपत्र बोर्डको भूमिका अपरिहार्य छ । यसकारण कसैको दबाब र प्रभावबाट माथि उठेर काम गर्नुस्,’ उनले भने, ‘राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई दण्डित गर्नुहोस् ।’

    सरकारले धितोपत्र बोर्डको क्षमता र भूमिकामा गुणात्मक सुधार चाहेकाले सोहीअनुसार काम गर्न उनको निर्देशन थियो ।

    ‘सेयर बजारमा भित्री कारोबार, सेयर कर्नरिङ, कारोबारमा पारदर्शिता लगायत धेरै समस्या छन्, त्यस्ता कारोबार नियन्त्रणका लागि बोर्डले शून्य सहनशीलताको नीति अपनाओस्,’ अर्थमन्त्री पौडेलले भने ।

    धितोपत्र बोर्डको काम कारबाहीलाई लगानीकर्ताको भरोसा जगाउने गरी काम गर्नुपर्ने उनको भनाइ थियो ।

    सेयर बजारको विकास र विस्तार क्रममा नयाँ नयाँ औजार भित्र्याउनका लागि पनि बोर्डले भूमिका खोल्नुपर्ने उनले बताए ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images