जनकपुरधाम । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेश प्रदेशको नाम ‘जानकी प्रदेश’ राख्न उपयुक्त हुने बताएका छन् ।
जनकपुरधाममा नवनिर्मित मैथिली विकास कोषको भवन उद्घाटन गर्दै उनले मिथिलाको ऐतिहासिक र धार्मिक महत्त्वका कारण यस्तो नामकरण सार्थक हुने धारणा राखे ।
‘राजा जनकको प्राचीन राजधानी, देवी सीताको जन्मथलो र भगवान रामको ससुराली भएकाले यो क्षेत्र धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण छ । नेपाल–भारत सम्बन्धलाई पनि यसले थप सुदृढ बनाएको छ,’ देउवाले भने, ‘मैले पहिल्यै भनेको थिएँ, यो प्रदेशको नाम ‘मधेश’ भन्दा ‘जानकी प्रदेश’ राख्दा अझ उपयुक्त हुन्छ ।’
उनले मैथिली भाषा र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि मैथिली विकास कोषले उठाएको कदम नयाँ पुस्ताका लागि प्रेरणादायी हुने विश्वास व्यक्त गरे ।
उक्त भवन मधेश प्रदेश सरकारको साढे सात करोड रुपैयाँ लगानीमा निर्माण भएको हो, जसको जानकारी कोषका अध्यक्ष जीवनाथ चौधरीले दिए ।
यसअघि बिहान जनकपुरधामस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा देउवाले अब मधेश प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने दाबी गरेका थिए ।
त्यस्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशको नामाकरणमा चित्त बुझाएका छैनन् । उनले बारम्बार यसबारे असन्तुष्टि जनाउँदै आएका छन् ।
उनले कोशी प्रदेशको नाम पुनर्विचार गर्नुपर्ने माग राख्दै आएका छन् । प्रचण्डले धार्मिक वा जातीयताका आधारमा नाम राख्न चहाने बुझिएको छ ।


विश्व खबर 




















