images
images
  • प्रतिपक्षी दलको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

    काठमाडौं – झण्डै दुई महिनापछि आज बसेको मधेश प्रदेशसभाको बैठक प्रतिपक्षी दलको अवरोधले स्थगित भएको छ ।

    प्रदेश सभाको पाँचौँ अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि डाकिएको थियो, तर बैठक ४ बजे सुरु भएको थियो । सभामुख रामचन्द्र मण्डलले कारबाही सुरु गरे लगत्तै प्रतिपक्षी दलले अवरोध गरेपछि बैठक नै स्थगित गरिएको छ ।

    प्रमुख प्रतिपक्षी जसपा नेपालका सचेतक रामआशिष यादवले आर्थिक अनुशासनको खुलेयाम उल्लंघन भएको र सो विषयमा छानबिन समिति गठन गर्ने सहमति भए पनि नगरिएकाले बैठक चल्न नदिने बताए ।

    उनले भने, ‘संसदीय छानबिन समिति गठन भएको आज एक महिना २४ दिन बित्यो । प्रतिपक्षी दलले नामसमेत दिइसकेको छ, तर सत्तापक्षले नाम अझै दिएको छैन । सरकार नै चाहन्छ भ्रष्टाचार होस् ।’

    छानबिन समिति गठन नभएसम्म प्रतिपक्षी दलले सदन अवरुद्ध पार्ने उनको भनाइ छ ।

    सभामुख मण्डलले तीन घण्टा लगाएर छलफल गरे पनि सहमति नजुटेको भन्दै बैठक स्थगित गरिएको जानकारी गराए । उनका अनुसार अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images