images
images
  • डिपफेक भिडियोमार्फत श्रृंखला खतिवडाको नाममा सट्टेबाजी प्लेटफर्मको अवैध प्रचार

    काठमाडौं – पूर्व मिस नेपाल श्रृंखला खतिवडाको नाम र भिडियोको डिपफेक माध्यमबाट प्रयोग गरी ‘आईबेट ९७ नेपाल’ नामक अनलाइन सट्टेबाजी प्लेटफर्मले अवैध प्रचार गरिरहेको खुलासा भएको छ।

    कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘इट्स माई शो’ मा सुरजसिंह ठकुरीले लिएको पुरानो अन्तर्वार्तालाई तोडमोड गरी प्लेटफर्मले खतिवडालाई “आईबेट ९७” की मालिक भन्दै प्रस्तुत गरेको छ। एडिट गरिएको भिडियोमा ठकुरीको प्रश्नपछि खतिवडाले “म आईबेट ९७ को अनर हो” भनेको जस्तो देखाइएको छ, जुन पूर्णतः नक्कली र भ्रामक हो।

    यसरी डिपफेक प्रविधिको प्रयोग गरी प्लेटफर्मले आफूलाई सुरक्षित, सजिलै पैसा जित्न मिल्ने, बोनस पाइने र रकम झिक्न सहज हुने जस्ता भ्रामक दाबी गर्दै नेपाली प्रयोगकर्तालाई ललच्याउने प्रयास गरिरहेको छ।

    यसअघि सोही प्लेटफर्मले काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) को नाममा पनि यस्तै शैलीको डिपफेक भिडियो बनाएको थियो।

    प्लेटफर्मले नेपाली भाषा र प्रतीक प्रयोग गरी खुलेआम सट्टेबाजी तथा लाइभ क्यासिनोको प्रचार गर्दै आएको छ। यस्तै, आफू नेपालमा दर्ता भएको भनी नक्कली कागजात समेत देखाएको देखिन्छ।

    साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार यस्तो कार्यले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ र वैयक्तिक गोपनीयता ऐन, २०७५ को दफा १६ उल्लंघन गर्छ। “व्यक्तिको मञ्जुरीबिना तस्बिर वा भिडियोको दुरुपयोग वैधानिक अपराध हो,” अवस्थीले बताए।

    त्यस्तै, मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत सट्टेबाजी गैरकानुनी मानिएको छ। पहिलोपटक यस्तो कसूरमा तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना र दोहोरिएमा बढी सजाय हुने प्रावधान छ।

    आईबेट ९७ ले टेलिग्राममार्फत पनि आफ्नो नेटवर्क विस्तार गरिरहेको देखिन्छ। फेसबुकमा अपलोड गरिएको डिपफेक भिडिओले यो समाचार तयार पार्दासम्म करिब २ लाख ७० हजारभन्दा बढी भ्युज, झन्डै २ हजार रियाक्सन र ४६ कमेन्ट प्राप्त गरिसकेको छ।

    अवैध सट्टेबाजीसँगै डिपफेक प्रविधिको प्रयोगले व्यक्तिको सामाजिक प्रतिष्ठा र गोपनीयतामा गम्भीर असर पुर्‍याउने भएकाले विज्ञहरूले यस्ता प्लेटफर्महरूविरुद्ध कडा कारबाही आवश्यक रहेको बताएका छन्।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images