
जनकपुरधाम । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आइतबार मधेस प्रदेशमा ६४ वटा नयाँ पक्की सडक निर्माण कार्यको एकैपटक शिलान्यास गर्ने भएका छन् ।
जनकपुरधामस्थित मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट आइतबार दिउँसो १ बजे आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिको माध्यमबाट मधेसका ८ वटै जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रमा एक–एकवटा सडक शिलान्यास गर्ने भएका हुन् ।
यस योजना अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर लम्बाइका साढे पाँच मिटर चौडाइ भएका पक्की सडक निर्माण गरिनेछ । भौतिक पूर्वाधार विकासमन्त्री सञ्जय यादवका अनुसार कुल ३२० किलोमिटर सडक निर्माणको लक्ष्यसहित योजना तीन आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ ।
बहुवर्षीय खरिद योजना अनुसार डीपीआर समेत सकिएको
सडक निर्माणका लागि आवश्यक विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको र बहुवर्षीय खरिद गुरुयोजना समेत स्वीकृत भइसकेकाले शिलान्यासपछि काम छिट्टै सुरु हुने मन्त्री यादवले बताए ।
१२७० करोड रुपैयाँ लागत अनुमान गरिएको यस योजनालाई ‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमको दोस्रो चरणको रूपमा लिइएको छ ।
विश्व बैंकको सहयोगमा अन्य योजना पनि अघि बढ्दै
मन्त्रालयका अनुसार विश्व बैंकको सहयोगमा सञ्चालनमा रहेको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गत हालसम्म १९८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने ३२६ किलोमिटर सडकको बृहत मर्मत भइरहेको छ । यसका साथै थप एक हजार किलोमिटर सडकको नियमित मर्मतसम्भार कार्यसमेत अघि बढाइएको छ ।
सांसदको सिफारिस र सर्वदलीय सहमति
सडक योजनाको छनोट सम्बन्धित क्षेत्रबाट निर्वाचित प्रदेशसभा सांसदहरूको सिफारिसका आधारमा गरिएको हो । एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले कार्यक्रम सर्वदलीय सहमतिमा अघि बढाइएको बताए ।
प्रधानमन्त्री ओलीको एकैदिन ६४ सडक शिलान्यासलाई मधेस विकासका लागि ठूला पूर्वाधार योजनाको थालनीको रूपमा लिइएको छ । आगामी वर्षहरूमा यसको प्रभावकारी कार्यान्वयन र अनुगमनलाई लिएर स्थानीयवासी तथा जनप्रतिनिधि सकारात्मक देखिएका छन् ।
प्रतिक्रिया दिनुहोस्