काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय टाढिएको भनिएको सम्बन्ध पुनः नजिकिन थालेको संकेत देखिएको छ । पार्टीका वरिष्ठ नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाबीच झन्डै एक वर्षपछि प्रत्यक्ष भेटवार्ता भएको छ ।
शुक्रबार बिहान कोइरालाको विशालनगरस्थित सम्पर्क कार्यालयमा दुई नेताबीच भेटवार्ता भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । भेटमा कांग्रेस उपसभापति धनराज गुरुङ र सहमहामन्त्री जीवन परियारको पनि उपस्थिति रहेको छ ।
पार्टीभित्र सशक्त संस्थापनइतर धारका रूपमा चिनिने कोइराला–गगन समूहबीच पछिल्लो समय संवाद ठप्प भएको चर्चा हुँदै आएको थियो । विशेषगरी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने विषयमा मतभेद देखा परेपछि दुई नेताबीच दूरी बढेको भनिएको थियो ।
यही सन्दर्भमा एक वर्षपछि भएको भेटवार्ताले कांग्रेसभित्र नयाँ राजनीतिक समीकरण बन्ने संकेत गरेको राजनीतिक विश्लेषकहरू बताउँछन् । विशेषगरी आगामी महाधिवेशन र पार्टी पुनर्संरचनाका सन्दर्भमा संस्थापनइतर पक्षको एकताले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा प्रभाव पार्ने अनुमान गरिएको छ ।
दुवै नेताले भेटमा के–के विषयमा छलफल गरे भन्ने विषयमा औपचारिक रूपमा केही खुलाइएको छैन । तर, विश्वस्त स्रोतहरूका अनुसार पार्टीको भावी रणनीति, सरकारप्रतिको धारणा र कांग्रेसभित्रको आन्तरिक सन्तुलन जस्ता विषयमा प्रारम्भिक तहमा कुराकानी भएको थियो ।
यसरी लामो अन्तरालपछि भएको संवादले कांग्रेसको आन्तरिक राजनीति फेरि सक्रिय मोडमा प्रवेश गर्ने देखिएको छ । आगामी दिनहरूमा शेखर–गगनको ध्रुवीकरणले के रूप लिन्छ भन्ने कुराले पार्टीको दिशा निर्धारण गर्न सक्ने आँकलन गरिएको छ । यसअघि पार्टीको आगामी नेतृत्व हत्याउन गगन सभापति शेरबहादुर देउवा क्याम्प पुगेका थिए ।























