काठमाडौं । इजरायल र हमासबीच जारी युद्धले शनिबार ६ सय दिन पूरा गरेको छ । सन् २०२३ अक्टोबर ७ मा सुरु भएको यो सशस्त्र द्वन्द्वले मध्यपूर्वलाई रगत, आँसु र विनाशको अन्धकारमा डुबाएको छ । यति लामो समयसम्म जारी द्वन्द्वले अब केवल दुई समूहबीचको लडाइँ मात्र होइन । लाखौं निर्दोष जनताको अस्तित्व र बाँचाइको प्रश्न बनेको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमण सुरु भएयता कम्तीमा ५४ हजार २४९ प्यालेस्टिनीले ज्यान गुमाएका छन् । घाइतेको संख्या १ लाख २३ हजार ४९२ नाघिसकेको छ । मार्च १८ पछि मात्रै इजरायली सेनाले ३,९८६ जनाको हत्या गरेको जनाएको छ । पछिल्लो २४ घण्टामा मात्र ६७ शव अस्पतालमा ल्याइएका छन् भने १८४ घाइते भएका छन् ।
युद्धको बलिवेदीमा बालबालिका, वृद्ध, महिलादेखि सामान्य नागरिकसम्म च्यापिएका छन् । बम, गोली र सैन्य कारबाहीभन्दा भयावह अर्को संकट हो– मानवीय संकट । सीमाना पूर्णरूपमा बन्द भएपछि गाजामा न खाना पुगेको छ, न औषधि, न त शुद्ध पानी । स्वास्थ्य सेवा चरमराएको छ । बाँच्नकै लागि नागरिकहरू फोहोरको थुप्रोमा खाना खोज्न बाध्य छन् ।
भोकले पिरोलिएका आमाहरू छोराछोरीलाई बचाउन पोलेको भात र सुकेको रोटी उमालेर खुवाउने प्रयास गरिरहेका छन् । राहत सामग्री कहिले काँही पुग्छ । तर, त्यो पनि अराजकताको कारण दुर्घटनामा परिणत हुने गरेको छ । केही दिनअघि राहत वितरणको क्रममा भीड नियन्त्रण गर्न सुरक्षाबलले गोली चलाउँदा दर्जनौंको मृत्यु भयो, सयौं घाइते भए ।
युद्धको सुरुवातमा हमासले करिब २५० इजरायलीलाई बन्धक बनाएको थियो । उनीहरूसँगै नेपाली विद्यार्थी विपीन जोशीलाई बन्धन बनाइएको थियो । तर, हालसम्म उनीबारे कुनै जानकारी प्राप्त नभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म १४८ जनालाई मात्रै फिर्ता ल्याउन सकिएको छ । सयौं अझै बेपत्ता छन् । तिनीहरूलाई सुरक्षित फिर्ता ल्याउन इजिप्ट, कतार र अमेरिका लगायतका देशहरू कूटनीतिक प्रयासमा जुटेका छन् । तर, कुनै स्थायी समाधानको बाटो खुल्न सकेको छैन ।
युद्धविरामको विषयमा निरन्तर बयानबाजी भइरहे पनि स्थायी सहमतिको संकेत छैन । इजरायलले भूमिगत हमास संरचनालाई समाप्त पार्ने अडान दोहोर्याइरहेको छ भने हमासले युद्धविरामका सर्तहरू परिवर्तन गर्दै आएको छ । मध्यस्थकर्ताहरू भने ब्याकफुटमा देखिन्छन् ।
विश्व जहाँ विज्ञान, प्रविधि र कूटनीतिक प्रगतिको कुरा गरिरहेको छ । त्यही बेला गाजा लगायतको क्षेत्र मानवीय विपत्तिको केन्द्र बनेको छ । अस्पतालहरूमा घाइते बालबालिकाको चिच्याहट, भग्नावशेषमा हराएका आफन्तको खोजी र रातभर सुनिने विस्फोटका आवाजहरूले यो युद्धलाई केवल सामरिक भिडन्त बनाएको छैन– यो मानवता विरुद्धको एक कठोर युद्ध बनेको छ ।
सम्पादकीय टिप्पणीे :
यो रिपोर्ट केवल संख्याहरूको बयान होइन । यो तीन लाखभन्दा बढी पीडितकोको आवाज हो । जुन अझै पनि सुन्न नसकिने गरी चिच्याइरहेको छ ।


विश्व खबर 


















