काठमाडौं – राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी समूहहरूले आयोजना गरेको प्रदर्शनका कारण काठमाडौं उपत्यकाका प्रमुख सडकखण्डहरूमा सवारी आवागमन प्रभावित भएको छ। माइतीघर–मण्डला, बबरमहल, नयाँ बानेश्वर तथा नदी करिडोर क्षेत्र आसपास ट्राफिक अत्यधिक अस्तव्यस्त बनेको हो।
हिजो बिहीबार रत्नपार्कमा प्रदर्शन गरेर सुरु गरिएको आन्दोलन आज शुक्रबार पनि जारी रहेको छ। राप्रपा, राप्रपा नेपाललगायत राजावादी धारका राजनीतिक दलहरूको सक्रिय सहभागिता रहेको आन्दोलन राजसंस्था पुनर्स्थापना नभएसम्म जारी रहने आन्दोलनकारीहरूले जनाएका छन्।
सवारी सञ्चालनमा अवरोध हुँदा सर्वसाधारण घाममा सडकमै लामो समय कुर्न बाध्य भएका छन्। अत्यधिक ट्राफिक जामका कारण कार्यालय समयको आवत–जावतमा समेत कठिनाइ भएको छ।
प्रदर्शनले जनजीवनमा असर पार्न थालेपछि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थितिसमेत प्रभावित क्षेत्रमा देखिएको छ।























