images
images
  • जनताको आक्रोश गणतन्त्रप्रति होइन, सरकारप्रति हो : प्रचण्ड

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता गणतन्त्रप्रति होइन, वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताएका छन्।

    बिहीबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै उनले जनताले गणतन्त्रबाटै आम नागरिकको जीवनमा परिवर्तन होस् भन्ने अपेक्षा राखेको बताएका हुन्।

    “गणतन्त्र कि राजतन्त्र भन्नेमा जनमत सङ्ग्रह गर्न तयार हुनुहुन्छ ?” भन्ने प्रश्नमा प्रचण्डले उक्त प्रस्तावलाई ‘वाहियात कुरा’ भने।

    “संविधानसभा निर्वाचनमार्फत शतप्रतिशत जनमतका आधारमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भइसकेपछि जनमत सङ्ग्रहको कुरा गर्नु धेरै तल्लो सोच हो,” उनले भने।

    अध्यक्ष प्रचण्डले आफूले हालै तराईमा झन्डै एक करोड नागरिकसँग प्रत्यक्ष संवाद गरेको र मध्यपहाडी लोकमार्गअन्तर्गत लाखौँ जनतासँग भेटघाट गरेको दाबी गर्दै गणतन्त्र कमजोर भएको भन्ने भाष्य गलत भएको बताए।

    उनले वर्तमान सरकारको गलत कामकारबाहीका कारण जनतामा असन्तुष्टि र निराशा बढेको स्वीकार गरे। साथै, राजावादीहरूले यही असन्तुष्टिलाई फाइदाको रूपमा प्रयोग गर्न खोजेको आरोप पनि लगाए।

    “सरकारको नेतृत्व गर्ने पार्टीका कतिपय गलत कामकारबाहीको कारण नेतृत्वप्रति जनतामा वितृष्णा बढेको छ। अहिलेको सरकारले भ्रष्टाचार, सुशासन, सामाजिक न्याय र विभेदका सवालमा गलत काम गरेको अनुभवले जनतामा सरकारप्रतिको आक्रोश बढेको छ,” उनले भने, “त्यही सरकारप्रतिको असन्तुष्टिलाई राजावादीहरूले क्यास गर्न खोजिरहेका छन्।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images