काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाका मुख्य सचेतक र प्रमुख सचेतकहरूलाई शुक्रबार बिहान ११ बजे छलफलका लागि बोलाएका छन् ।
संसद् सचिवालयका अनुसार छलफलको उद्देश्य प्रतिनिधिसभामा जारी अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र आगामी बैठकहरूको कार्यतालिका तय गर्ने हो ।
सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले दिएको जानकारीअनुसार बैठकमा प्रतिपक्षी दलहरूसँग सहमति जुटाएर संसद् सुचारु गर्ने प्रयास हुनेछ ।
पछिल्ला केही दिनदेखि भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
यसैबीच सभामुख घिमिरेले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाएका छन् । उक्त बैठकमा विभिन्न दलका शीर्ष नेताहरूबीच विस्तृत छलफल हुने जनाइएको छ ।
संसद् बजेट सत्र अन्तर्गतको महत्वपूर्ण चरणमा प्रवेश गरिसकेको छ । संविधानबमोजिम जेठ १५ गते बजेट प्रस्तुत भएपछि त्यसमाथि विधिवत छलफल गरिनुपर्ने हुन्छ ।
तर, प्रतिपक्षको अवरोधका कारण संसद् सुचारु हुन सकेको छैन ।
यसै सन्दर्भमा सभामुखले दलहरूबीच संवाद र सहमति खोज्दै सदनलाई अगाडि बढाउने पहल गरेका हुन् ।























