काठमाडौं । नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत राजावादीहरूले काठमाडौंमा प्रदर्शन गर्दैछन् ।
आज (बिहीबार) बिहान सवा १० देखि दिउँसो २ बजेसम्म गणतन्त्र दिवसको अवसरमा एमालेले भृकुटीमण्डपमा सांस्कृतिक झाँकीसहित प्रदर्शन गर्नेछ ।
पूर्वनिर्धारित समयमा कार्यक्रम सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले एमालेलाई आग्रह गरेको छ ।
त्यस्तै राप्रपा लगायतका राजावादीहरूलाई भने शान्ति बाटीकामा दिउँसो २ बजेदेखि ५ बजेभित्रै प्रदर्शन लगायतका कार्यक्रम सक्न उक्त प्रशासनले आग्रह गरेको छ ।
केन्द्रीय सुरक्षा समितिको बैठकले एमाले र राप्रपा लगायतका राजावादीहरूको प्रदर्शनका क्रममा मुठभेट हुनसक्ने भन्दै फरक–फरक स्थान र समय तोकेको छ ।
सो समितिले सुरक्षा संयन्त्रलाई सावधानीपूर्वक सुरक्षामा खटिन र आवश्यक्ता अनुसार बल प्रयोग गर्ने निर्णय गरेको छ ।
यसअघिको तीनकुने घटना पुनः दोहोरिन नदिन सुरक्षा समितिले काठमाडौंको सुरक्षा व्यवस्थालाई हाइअलर्टमा राखेको छ ।
यद्यपि तीनकुने घटना पुनः दोहोरिएमा राप्रपाका शीर्ष नेताहरू र राजावादीका उच्च पदाधिकारी पक्राउ पर्नसक्ने आकलन गरिएको छ ।
उनीहरू सबै सुरक्षा संयन्त्रको निगरानीमा छन् ।























