काठमाडौं । नेकपा (एमाले) ले बिहीबार आयोजना गर्न लागेको सार्वजनिक कार्यक्रम जनताको उपलब्धीको उत्सवका रूपमा मनाउने बताएको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा महासचिव शंकर पोखरेलले उक्त कार्यक्रम कसैको विरोधमा नभएको स्पष्ट पारे ।
उनले भने, ‘हाम्रो कार्यक्रम कसैको विरोध होइन, जनताको उपलब्धीको खुसीयाली प्रकट गर्ने समारोहको रुपमा त्यो कार्यक्रम आयोजना गर्न खोजेका छौँ ।’
गणतन्त्र स्थापनाको स्मरण गर्दै आयोजना गरिएको यस कार्यक्रममा एमालेले सबै दलहरूलाई सहभागी हुन आह्वान गरेको छ । महासचिव पोखरेलले भोलिको समारोह एमालेको मात्र नभई सम्पूर्ण राजनीतिक दल र नागरिक समाजको साझा उत्सव हुने दाबी गरे ।
‘नेकपा एमाले मात्रै नभइ सबै राजनीतिक दलका नेता कार्यकर्ताहरू त्यो दिन समारोहमा सामेल भएर गणतन्त्रलाई उत्सवको रुपमा अघि बढाउन हातेमालो गर्न आह्वान गर्न चाहन्छु,’ पोखरेलले भने।
एमालेले यस वर्षको जेठ १५ लाई विशेष रूपमा ‘गणतान्त्रिक उत्सव’ का रूपमा मनाउने घोषणा गर्दै आएको छ । उक्त दिन पार्टीले काठमाडौं उपत्यकासहित देशभर विभिन्न कार्यक्रम गर्ने तयारी गरेको छ ।
यसअघि, भिन्न राजनीतिक दृष्टिकोण राख्ने विभिन्न पक्षहरूले एमालेको कार्यक्रमप्रति आशंका व्यक्त गर्दै आएका थिए । तर, महासचिव पोखरेलले यस्ता आशंकाहरूलाई खण्डन गर्दै यो कुनै राजनीतिक प्रदर्शन नभएर नागरिक सहभागिता र लोकतान्त्रिक उपलब्धिहरूको सम्मानमा आधारित कार्यक्रम हुने स्पष्ट पारे ।
यसअघि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौंलाई एमालेका युवाले नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । उक्त निर्देशनको चौतर्फी आलोचना भएको छ ।
महासचिवले भने आफूहरूको उत्सव कुनै राजावादीको विरोध गर्न र काठमाडौं नियन्त्रणमा लिन नभएको प्रष्ट पारेका छन् ।























