काठमाडौं । भिटिज भिसा प्रकरणमा आलोचनाको सामना गरिरहेका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोपबारे सार्वजनिक प्रष्टिकरण दिन पत्रकार सम्मेलनको तयारी गरेका छन् ।
गृहमन्त्रीको सचिवालय स्रोतका अनुसार उनले यस विषयमा संसद्मै धारणा राख्ने प्राथमिक चाहना व्यक्त गरेका थिए ।
तर, प्रतिनिधिसभाको गतिरोध जारी रहेकोले विकल्पस्वरूप पत्रकार सम्मेलन गर्न लागेका हुन् । उक्त सम्मेलनमार्फत् उनले भिजिट भिसा प्रकरणबारे प्रष्ट पार्ने तयारी गरेका छन् ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) लगायत दलहरूले गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै सदन अवरुद्ध पारिरहेका छन् । उनीहरू भिटिज भिसा वितरणमा देखिएको अनियमितताको राजनीतिक तथा नैतिक जवाफदेहीताको माग गर्दै आएका छन् ।
यता गृहमन्त्रीले संसद् सचिवालयसँग बोल्ने समयसमेत लिइसकेका छन् । तर, अवरोधका कारण उनले आफ्ना कुरा राख्न पाएका छैनन् । यसैका लागि उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।























