काठमाडौं । राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मको पक्षमा गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारले १५ जेठमा पनि दमनको बाटो अख्तियार गर्ने आशंका व्यक्त गरेका छन् ।
मंगलबार काठमाडौंमा सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा सुवेदीले १५ चैतमा भएको आन्दोलनमाथिको दमन दोहोरिन सक्ने चिन्ता व्यक्त गरे । ‘हामी निर्णायक आन्दोलनमा छौँ । हाम्रो आन्दोलन अहिंसात्मक हुन्छ,’ उनले भने, ‘तर सरकारको रबैया हेर्दा १५ चैतकै जस्तो परिस्थिति पुनः दोहोरिने डर छ ।’
सुवेदीले सत्तारूढ दल नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिलाई आपत्तिजनक भनेका छन् । आइतबार एक कार्यक्रममा प्रधानमन्त्री ओलीले १५ जेठमा काठमाडौं उपत्यका बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताएका थिए ।
‘प्रधानमन्त्रीको यो अभिव्यक्ति लोकतन्त्रविरोधी मात्र होइन, आन्दोलनमाथिको सम्भावित हस्तक्षेपको संकेत हो,’ सुवेदीले भनाइ जोड्दै भने, ‘त्यसैले तपाईं पत्रकारहरू साक्षी बसिदिनुस् भनेर हामी यहाँ आएका हौं ।’
संयुक्त जनआन्दोलन समितिले १५ जेठमा काठमाडौंमा ठूलो प्रदर्शनको तयारी गरिरहेको छ । समितिका अनुसार प्रदर्शन शान्तिपूर्ण तर निर्णायक हुनेछ ।
सुवेदीले सरकारले आन्दोलनमा अवरोध गरे त्यसले गम्भीर परिणाम निम्त्याउने चेतावनीसमेत दिए । यसअघि १५ चैतमा पनि समितिको प्रदर्शनमाथि प्रहरीले बल प्रयोग गरेको थियो । सोही घटनालाई स्मरण गर्दै सुवेदीले शान्तिपूर्ण आन्दोलनलाई दमन नगर्न सरकारलाई आग्रह गरे ।
संयुक्त जनआन्दोलन समितिमा पूर्वराजावादी, हिन्दू राष्ट्र समर्थक समूहहरू तथा केही पूर्वसेना अधिकृतहरू समेत संलग्न छन् । यो आन्दोलनलाई सत्तारूढ पक्षले प्रतिगमनको प्रयास भनेको छ भने सहभागीहरूले ‘राष्ट्रिय अस्मिता’को मुद्दा भनेका छन् ।’























