images
images
  • मीनबहादुर गुरुङले किने आइप्लेक्स मलको बहुमत सेयर, भाटभटेनी सञ्चालन हुने

    काठमाडौं। भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले नयाँ बानेश्वरमा सञ्चालित आइप्लेक्स मलको बहुमत सेयर खरिद गरेका छन्। २०७६ सालदेखि सञ्चालनमा रहेको मलको ५१ प्रतिशत सेयर खरिद गरेका हुन्।

    गुरुङका पारिवारिक श्रोतका अनुसार मल किनबेचको आपसी समझदारी भइसकेको छ। यद्यपि, कति मूल्यमा खरिद गरेका हुन् भन्ने जानकारी दिन चाहेनन्। ‘केही समयपछि मूल्य सार्वजनिक गर्ने छौँ,’ पारिवारिक श्रोतले भन्यो, ‘मल खरिदपछि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ।’

    गुरुङले मलको केही भागमा भाटभटेनी सुपरमार्केट सञ्चालन गर्ने तयारी गरे पनि हालसम्म के गर्ने? भन्ने टुंगो लाग्न बाँकी रहेको छ। ‘अहिले मल पूर्ण रुपमा भरिभराउ रहेकाले तत्कालै भाटभटेनी राख्नका लागि हटाउन समय लाग्न सक्छ,’ उनी निकट एक अधिकारीले भने, ‘गुरुङको सोच भाटभटेनी राख्ने भन्ने नै छ। तर, टुंगो लागिसकेको छैन।’

    नयाँ बानेश्वर, पुरानो बानेश्वर र शंखमूल क्षेत्रमा हालसम्म भाटभटेनी सञ्चालनमा आएको छैन। त्यस क्षेत्रमा भाटभटेनी राख्ने सोचका साथ जग्गाको खोजीमा रहेको अवस्थामा मल बिक्रीको जानकारी पाएका थिए। त्यसपछि ५१ प्रतिशत सेयर खरिद गर्ने निर्णयमा गुरुङ पुगेको बताउँछन्।

    ६ वर्षअघि करिब ३० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गरी सञ्चालनमा आएको मलमा ५० भन्दा बढी अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु सञ्चालनमा रहेको छ। यस्तै, अत्याधुनिक सुविधायुक्त दुई वटा सिनेमा हल छ।

    कोभिड र आर्थिक मन्दीपछि मलको व्यापार सुस्ताइरहेको छ। बजारमा छाएको मन्दीका कारण मलका धेरै पसलहरु बन्द भएको छ। यही अवस्थामा आइप्लेक्स मलमा भाटभटेनी ग्रुपको प्रवेशले चलामायन हुने आशा गरिएको छ।

    हाल नेपालमा सबैभन्दा बढी बिक्री हुने र चलायामान हुने व्यवसायभित्र भाटभटेनी रहेकाले आइप्लेक्स मलमा पनि भाटभटेनी सञ्चालन गर्ने मनसाय गुरुङले लिएको जनाएको छ।

    गुरुङले पछिल्लो समय तिनकुनेमा निर्माणधीन एक अस्पतालको सेयर खरिद गरिसकेका छन्। यस्तै, दरबारमार्गमा पाँचतारे होटल निर्माण भइरहेको छ भने विराटनगरमा होटल खरिद गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images