सुर्खेत – हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा गएको बाढी र सुख्खा पहिरोको अध्ययन गर्न गएको प्राविधिक टोलीले समुद्री सतहदेखि ५,३५० मिटर उचाइमा तीन वटा हिमताल पत्ता लगाएको छ।
यसअघि स्थानीय युवाहरूले दुई वटा हिमताल देखिएको दाबी गरेका थिए, तर पछिल्लो प्राविधिक अध्ययनले त्यसभन्दा एक बढी, कुल तीन वटा हिमताल रहेको पुष्टि गरेको हो। अध्ययनमा सहभागी प्राविधिक शिवकुमार बास्कोटाका अनुसार टोली अहिले पनि ती हिमतालहरूको अवस्थाबारे विस्तृत अध्ययनमा जुटिरहेको छ।
बाढीपछि त्यस क्षेत्रको स्थलगत अवलोकनका लागि गएको उक्त अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिस्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिस्ट सौहाद्र जोशी सहभागी थिए।
जेठ १ गते राति आएको आकस्मिक बाढी र सुख्खा पहिरोका कारण तिलगाउँका १८ घरमा बसोबास गर्ने ३२ परिवार विस्थापित भएका थिए। बाढीको स्रोत हिमताल फुटेको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ, जसको पुष्टि हुन बाँकी छ।
हाल बस्ती जोखिममा रहेकाले प्रभावित स्थानीयहरू गाउँभन्दा केही पर रहेको एक विद्यालयमा अस्थायी रूपमा आश्रय लिएर बसिरहेका छन्। राहत तथा पुनःस्थापनाका लागि स्थानीय तह र सरोकार निकायहरू तयारी अवस्थामा रहेको जनाइएको छ।























