काठमाडौं । नेसपाका नेता गंगानारायण श्रेष्ठ झण्डै एक दशकपछि पुनः माओवादी केन्द्रमा फर्किएका छन् ।
आज (सोमबार) राजधानीको ललितपुरस्थित ग्वार्कोको कान्तिपुर ब्यांक्वेटमा आयोजित विशेष कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रेष्ठले पार्टी समायोजनसम्बन्धी दस्तावेजमा औपचारिक हस्ताक्षर गरे ।
श्रेष्ठले २०७२ असोज ९ गते तत्कालीन नेता डा.बाबुराम भट्टराईसँगै माओवादी पार्टी परित्याग गरेका थिए । त्यसयता उनी भट्टराईको नेतृत्वमा स्थापना भएको नयाँ शक्तिमा सक्रिय हुँदै पछिल्लो समय महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) मा आवद्ध थिए ।
गत २०८० जेठ ३ गते माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने लिखित सहमति भएको थियो । तर, पार्टी एकताप्रति यादवले अपेक्षित चासो नदेखाएको भन्दै कार्यदल सदस्यसमेत रहेका श्रेष्ठले स्वतन्त्र निर्णय लिँदै आज माओवादी केन्द्रमा फर्किएका हुन् ।
श्रेष्ठले नेसपाका २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना तथा १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना आफू पक्षमा रहेको दाबी गरेका छन् । उनले आफ्नो नेतृत्वमा रहेका नेताहरूसहित पार्टीमा समायोजन हुने जनाएका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले गंगानारायण श्रेष्ठको पुनः आगमन माओवादी आन्दोलनकै सुदृढीकरणका लागि उत्साहजनक भएको बताए । उनले विगतमा भएका भिन्नताहरू राजनीतिक प्रक्रिया र समयको बहावसँगै पुनर्मूल्यांकन गर्दै अगाडि बढ्नु सकारात्मक भएको उल्लेख गरे ।
श्रेष्ठले पनि माओवादी आन्दोलनको मूलधारमा फर्किनु आफूका लागि भावनात्मक र राजनीतिकरूपमै अर्थपूर्ण निर्णय भएको बताए । उनले बामपन्थी शक्ति एकताको आवश्यकता अझ सशक्त रूपमा महसुस भएको उल्लेख गर्दै अबको यात्रामा माओवादी केन्द्रलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।
यससँगै माओवादी केन्द्रमा नेताहरूको पुनरागमनको क्रमले गति लिएको छ । पार्टी एकता र पुनः समायोजनमार्फत आगामी चुनाव र राजनीतिक आन्दोलनमा प्रभावशाली उपस्थिति जनाउने माओवादीको तयारी देखिएको छ ।























