काठमाडौं । कांग्रेस–एमाले नेतृत्वको सरकारमाथि प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राजावादीहरूले दबाब बढाउने भएका छन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखेको भन्दै संसद्बाटै भएपनि दबाब बढाउने तयारी गरेको छ ।
उसले यहीँ जेठ १३ गते बस्ने संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्नुका साथै सरकारमाथि दबाब बढाउने तयारी गरेको छ ।
कार्यवहाक प्रवक्ता मनिष झाका अनुसार आज (आइतबार) बसेको पार्टी केन्द्रीय समितिको बैठकले संसद्बाट सरकारलाई दबाब दिने निर्णय गरेको छ ।
यसका साथै उसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।
त्यसैगरी राजावादी समूहरूले पनि सडकबाट सरकारमाथि दबाब बढाउने भएको छ ।
उसले राजसंस्था र हिन्दुराज्य कायम गर्न माग राख्दै आन्दोलन गर्ने तयारी गरेको छ ।
यहीँ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र केही राजावादीहरू समूहहरूले आन्दोलन गर्ने निर्णय गरेका छन् ।
सोही दिन आफूहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन् ।
शान्तिपूर्ण आन्दोलनलाई सरकारले दबाउन खोजे प्रतिकार गर्ने राजावादीको तयारी छ ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले भने हालसम्म यसबारे कुनै आधिकारिक निर्णय गरेको छैन । यद्यपि सडक, सदन र आन्दोलनको बलबाट दबाब दिइरहेको छ ।























