काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई राजावादीसँग भिड्न निर्देशन दिएका छन् ।
उनले आज (आइतबार) एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् ।
ओलीले जेठ १५ गते दिउँसो ११ देखि २ बजेसम्म काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसारको निर्देशन दिएका छन् ।
आगामी जेठ १५ गते राजावादीहरूले काठमाडौंमा भव्य आन्दोलन गर्ने घोषणा गरेका छन् ।
उक्त दिन दिउँसो ११ बजेदेखि २ बजेसम्मको आन्दोलनमा हस्तक्षेप गर्नेगरी तयारी गर्न अध्यक्षसमेत रहेका ओलीले निर्देशन गरेका हुन् ।
यसबारेमा पार्टीले आवश्यक निर्देशन पछि दिने भन्दै उनले काठमाडौंमा एमालेको नियन्त्रणमा हुनुपर्ने बताए ।
उनले भने, ‘१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौंमा एमालेको नियन्त्रण हुनुपर्छ । कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छाडिदिनुस् ।’
यो निर्देशनलाई लिएर कतिपयले प्रधानमन्त्री ओलीले संयमता गुमाएको अरोप लगाएका छन् । लोकतन्त्रमा शान्तिपूर्ण आन्दोलन, प्रदर्शन गर्न सबैलाई छुट हुने भन्दै आफ्ना कार्यकर्तालाई ओलीले दिएको निर्देशन उपयुक्त नभएको कतिपयको बुझाइ छ ।























