काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरका प्रवक्ता तथा वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरसँग स्पष्टीकरण मागेका छन्।
प्रवक्ता मानन्धरका अनुसार आइतबार उनलाई लिखित पत्रमार्फत स्पष्टीकरण सोधिएको हो। उनले भने, “पत्र अहिले मेरो हातमा परिसकेको छैन, तर जुन विषयमा म सार्वजनिक रूपमा बोल्दै आएको छु, त्यसैप्रति मेयरको असहमति रहेको बुझिएको छ।”
महानगर कार्यपालिका बैठक पाँच महिनादेखि नबसेको भन्दै चैत १० गते कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरूले मेयर शाहलाई ज्ञापनपत्र बुझाएका थिए। प्रवक्ता मानन्धर पनि सो ज्ञापनपत्रमा अग्रसर थिए।
उनले पछिल्लो समय मेयर शाहको एकल निर्णयप्रणालीप्रति आलोचना जनाउँदै आएका छन्। यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यालय प्रवेश गराउने क्रममा पनि प्रवक्ता मानन्धरको सक्रिय भूमिका देखिएको थियो।
महानगरभित्रको आन्तरिक विवाद चुलिँदै गएको सन्दर्भमा मेयर र प्रवक्ताबीचको यो ताजा प्रसंगले शक्ति–सन्तुलनको प्रश्न पुनः उठाएको छ।























