images
images
  • अनलाइन मार्फत बजेट सुझाव माग्दै मेयर बालेन, अन्योलमै कार्यपालिका बैठक

    काठमाडौं – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, बजेट र कार्यक्रम तर्जुमा गर्न नागरिकहरूसँग प्रत्यक्ष सुझाव मागेको छ। मेयर बालेन शाहको नेतृत्वमा महानगरले अनलाइन सुझाव प्रणाली सार्वजनिक गर्दै, नीतिगत निर्णयमा जनताको सहभागिता सुनिश्चित गर्न पहल थालेको हो।

    अनलाइन पोर्टलमार्फत नागरिकहरूले ‘महानगरको पहिचान, जीवन्तता र समृद्धि’देखि लिएर ‘सामाजिक विकास’ र ‘पहुचयुक्त सहरी सेवा’ जस्ता २३ वटा मुख्य शीर्षक तथा उपशीर्षकअन्तर्गत सुझाव दिन सक्ने व्यवस्था गरिएको छ। साथै, शीर्षकबाहिरका विषयहरूका लागि ‘अन्य’ भन्ने छुट्टै खण्ड राखिएको छ, जहाँ सम्बन्धित कागजातहरू समेत अपलोड गर्न सकिनेछ।

    महानगरले पूर्वाधार, आर्थिक तथा सामाजिक विकास, प्रशासन सञ्चालन, सुशासन र अन्तरसम्बन्धित क्षेत्रहरूमा नागरिकबाट नीति तथा योजना सम्वन्धी विचार संकलन गर्ने लक्ष्य लिएको जनाएको छ। नागरिकहरूले जेठ १५ गतेभित्र आफ्ना सुझाव पठाउन सक्नेछन्।

    तर, यस्तो जनमुखी पहलबीच महानगरको आन्तरिक प्रशासनिक विवाद भने अझै समाधान भएको छैन। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादका कारण कार्यपालिका बैठक २०८१ पुस १० यतादेखि बस्न सकेको छैन। कार्यपालिका सदस्यहरूले पटक–पटक बैठक बोलाउन माग गरे पनि मेयर बालेनले बैठक आह्वान गरेका छैनन्, जसका कारण बजेट निर्माण प्रक्रियामै अन्योल छ।

    एकातिर जनताको सुझाव संकलन गर्दै ‘सहभागी बजेट’को अभ्यास गर्ने प्रयास भए पनि अर्कातर्फ कार्यपालिका नै नबसी महानगरको नीति र कार्यक्रम कार्यान्वयनमा शंका उठेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images