images
images
  • भिजिट भिसाका लागि अध्यागमनभित्रै सेटिङ, दलाल र कर्मचारीबीचको ‘गेट क्रश’ साझेदारीको संकेत

    काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसाको नाममा भइरहेको व्यापक अनियमितता अब केवल प्रशासनिक कमजोरीको सवाल मात्र रहेन। पछिल्लो खुलासाले यो प्रकरणलाई “गेट क्रश सेटिङ” अर्थात् दलाल र सरकारी कर्मचारीबीचको सुनियोजित साझेदारीका रूपमा उजागर गर्न थालेको छ। जहाँ अध्यागमनको ढोका ‘सुरक्षाको गेट’ नभई ‘सजिलो पास’ बन्दै गएको छ।

    स्रोतका अनुसार, भिजिट भिसाको आडमा रोजगारीका लागि गइरहेका व्यक्तिहरूलाई पास गराउन दलालहरूले अध्यागमन भित्रै सेटिङ मिलाउने गरेका थिए। यसका लागि निश्चित कर्मचारीहरूलाई ‘सिफ्टअनुसार’ खटाइने र सोही समयमा यात्रीलाई विमानस्थल पुर्याइने प्रचलन रहेको देखिएको छ।

    “सबै कुरा ‘गेट क्रश’मा निर्भर थियो,” एक उच्च प्रशासनिक अधिकारीले भने, “मतलब, अध्यागमनको त्यो अन्तिम प्रवेश गेटमा बसेको कर्मचारीलाई सेट गरिसकेपछि अरु प्रक्रिया कागजी मात्रै हुन्थ्यो।”

    भिजिट भिसामा अनियमितता भएको उजुरीका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ९ कर्मचारीको सरुवा गरिएको छ। सरुवा हुनेमा प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसहित नायब सुब्बा, कम्प्युटर अपरेटर र सहायक कम्प्युटर अपरेटर छन्। गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि मंगलबार उनीहरूको आकस्मिक सरुवा गरिएको हो।

    सेटिङ शृंखलाः प्रविधि कर्मचारीदेखि निर्णय तहसम्म :

    सरुवा गरिएका ९ कर्मचारीमध्ये ५ जना सूचना प्रणालीसँग सम्बन्धित छन् – ४ कम्प्युटर अपरेटर र १ सहायक कम्प्युटर अपरेटर। अनुसन्धानका प्रारम्भिक सूचनाहरूले उनीहरूले नै दलालबाट आएको विवरण प्रणालीमा पास गर्ने, आवश्यक ठाउँमा संकेत गर्ने वा निगरानी प्रणाली छल्ने काम गर्ने गर्थे भन्ने देखाएको छ।

    त्यसपछि नायब सुब्बाहरूबाट कागजात प्रमाणीकरण हुने र अन्तिम ‘ग्रीन सिग्नल’ प्रमुख अध्यागमन अधिकृतको स्वीकृतिबाट दिन सकिने प्रणाली बनाइएको थियो।

    यात्रा भइसकेपछि मात्रै उजुरी, अनि सरुवा :

    यस्तो सेटिङ महिनौँदेखि चलिरहेको भनिए पनि उजुरी आएपछि मात्रै गृह मन्त्रालय र अख्तियार सक्रिय भए। उजुरी आएपछि अध्यागमन प्रमुख तिर्थराज भट्टराईसहितका कर्मचारीहरूको सरुवा गरिएको हो। तर यो सरुवा दण्ड होइन, स्थानान्तरण मात्र भएको आरोप लागिरहेको छ।

    आर्थिक लाभ र नेटवर्किङ :

    प्रत्येक भिजिट भिसा सेटिङका लागि दलालहरूबाट ५० हजारदेखि २ लाख रुपैयाँसम्म लिने चलन रहेको बताइन्छ। यसको ठूलो हिस्सा सेटिङमा संलग्न कर्मचारीहरूबीच बाँडफाँड हुने गर्दथ्यो। यो प्रक्रिया दिनको कैयौँ यात्रुहरूसँग दोहोरिन्थ्यो, जसको आर्थिक आकार करोडौँमा पुग्ने अनुमान छ।

    अख्तियारको छापा र मोबाइल फरेन्सिक

    सरुवा भएको भोलिपल्ट अख्तियारले अध्यागमन कार्यालयमा छापा मारी प्रमुख भट्टराईको मोबाइल नियन्त्रणमा लिएको छ। अहिले त्यो मोबाइल फरेन्सिक परीक्षणमा पठाइएको छ, जहाँबाट सेटिङको संवाद, डिल, र कागजातको आदान–प्रदानको प्रमाण फेला पर्न सक्ने सम्भावना छ।

    यो घटना ‘भिजिट भिसा’को नाममा हुँदै आएको लापरवाही मात्रै होइन – संस्थागत संलग्नता र संरक्षित भ्रष्टाचारको जटिल सञ्जालको एक झलक हो। “गेट क्रश सेटिङ”को पर्दाफासले त्रिभुवन विमानस्थलको अध्यागमन प्रणालीमाथि मात्र होइन, राज्यको निगरानी संयन्त्रमाथि पनि प्रश्न खडा गरेको छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images