images
images
  • २२ करोड ठगी प्रकरणमा अञ्जला कोइरालासहितका विरुद्धको पेसी तेस्रोपटक स्थगित

    विराटनगर – मोरङको उमागौरी कृषि सहकारी संस्थामा भएको २२ करोड रुपैयाँभन्दा बढीको ठगी प्रकरणमा संलग्न भनिएका अञ्जला कोइरालासहितका प्रतिवादीहरूविरुद्धको मुद्दाको पेसी तेस्रोपटक स्थगित भएको छ।

    उच्च अदालत विराटनगरका कायममुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासमा बिहीबारका लागि तोकिएको पेसी प्रतिवादीतर्फका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित गरिएको हो। यससँगै सहकारी ठगीसम्बन्धी यो मुद्दाको सुनुवाइ तेस्रोपटक सारिएको हो।

    उक्त मुद्दामा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला प्रतिवादीको रूपमा जोडिएकी छन्। मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले अञ्जलासहित ६ जनालाई थुनामा राख्नुपर्ने मागसहित उच्च अदालतमा निवेदन दर्ता गराएको थियो।

    ११ वैशाखमा न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बाँस्तोलाबीच थुनाबारे नभई धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा मतभेद भएपछि मुद्दा तेस्रो न्यायाधीशको इजलासमा पुगेको हो।

    न्यायाधीश बाँस्तोलाले अञ्जला कोइरालासहित केही प्रतिवादीका लागि १ करोड धरौटी माग गर्ने राय दिएका थिए भने न्यायाधीश पुडासैनीले जिल्ला अदालत मोरङको आदेश सदर गरेकी थिइन्। मोरङ जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योति बास्कोटालाई ५ लाख, लक्ष्मीदेवी कार्कीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख, र मनोज कुमार सोनीलाई १ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो।

    २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको ठहरसहित सहकारी ऐनअनुसार मुद्दा दर्ता गरिएको छ। पुस २४ गते तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images