काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा कार्यरत नायव सुब्बा पूर्णसिंह विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विष्टले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी डोटीको दिपायल सिलगढी नगरपालिका–५ पुन्नामा रहेको प्रतिष्ठानमा नासु पदमा नियुक्ति लिएको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
विष्टले प्रतिष्ठानमा नियुक्ति लिन एसएलसीको नक्कली प्रमाणपत्र पेस गरेको उजुरी अख्तियारमा परेको थियो ।
उजुरी छानबिनपछि उनले नक्कली कागजात पेस गरेर स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलबाट कार्यालय सहायक (सहायक द्वितीय प्रशासन) पदमा नियुक्ति लिई ओहदा, लाभ र सुविधा समेत प्राप्त गरेको देखिएको आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए।
विष्टले भारतको माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश अन्तर्गतको जीएनके इन्टरमीडियट कलेज, कानपुरबाट हाइस्कूल उत्तीर्ण गरेको भनी झुट्टा प्रमाणपत्र पेस गरी जागिर सुरु गरेको भेटिएको प्रवक्ता पौडेलले बताए।























