सुर्खेत – मुगु जिल्लाको सोरु गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ११ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर गरिएका अन्य व्यक्तिहरूमा इन्जिनियर प्रकाश आचार्य, असिस्टेन्ट सव–इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नविन बुमी, उपभोक्ता समिति अध्यक्ष विष्णु दत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल सार्की, अनुगमन समिति संयोजक दलविर सार्की, समिति सदस्य धर्मराज जैसी र वडा नं. १० का तत्कालीन कार्यवाहक वडाध्यक्ष विरेन्द्रबहादुर मल्ल रहेका छन्।
२०७७र०७८ सालमा सोरु गाउँपालिका–१० को शहीदगेटदेखि कोटसम्मको सडक निर्माण योजनामा कार्य प्रारम्भ हुनु पूर्व नै उपभोक्ता समिति गठनबिनै सम्झौता गरी कार्यादेश दिएको, स्वीकृत लागतअनुसार काम नगरी बढी मूल्याङ्कन गरिएको, स्थलगत अनुगमन नगरी गलत प्रतिवेदन तयार गरी भुक्तानी सिफारिस गरिएको अनुसन्धानबाट खुलेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जनाए।
सडक निर्माण योजनाको लागत अनुमान ४३ लाख ९५ हजार रुपैयाँ थियो। तर नापी किताबमा उल्लेखित ६६२३.८ घनमिटरको सट्टा वास्तविक काम ३११३.०३ घनमिटर मात्र भएको देखिएको छ। त्यसैलाई आधार मानेर योजनासम्बन्धी कार्य सम्पन्न प्रतिवेदनमा ३५१०.७५ घनमिटरको झुटो उल्लेख गरिएको आरोप छ।
योजना अनुगमन समितिले समेत अपुरो विवरणसहित प्रतिवेदन दिई भुक्तानी सिफारिस गरेको र सोही आधारमा उपभोक्ता समितिलाई २३ लाख २२ हजार ८३२ रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको आयोगको दाबी छ।
अब यो मुद्दाको सुनुवाइ विशेष अदालतमा हुनेछ।























