सुर्खेत – सुर्खेत विमानस्थलको धावनमार्ग (रनवे) मुनिबाट एकाएक पानी निस्किन थालेपछि विमानस्थल पुनः दुई दिनका लागि बन्द गरिएको छ।
यसअघि रनवेमा खाल्डो परेपछि मर्मतका लागि दुई दिनका लागि उडान रोकिने निर्णय गरिएको थियो। मंगलबारदेखि मर्मतकार्य सुरु गरिएको थियो। तर, मर्मत गरिएका क्षेत्रभन्दा झन्डै १० मिटरको दूरीमा फेरि जमिनमुनिबाट पानीको मूल फूटेपछि थप समस्या देखिएको हो।
विमानस्थल प्रमुख हिराजन काफ्लेले बताएअनुसार, ‘सुरुमा भ्वाङ परेको स्थानको मर्मत सकिएको थियो। तर फेरि अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि बिहीबार र शुक्रबार विमानस्थल बन्द गरेर निर्माण कार्य सम्पन्न गर्ने योजना बनाइएको छ।’
खाल्डो परेको रनवे क्षेत्र विगतमा स्थानीय बस्ती उठाएर विस्तार गरिएको भूभागमा पर्दछ। नेवार स्कुलतर्फको उत्तरी क्षेत्रमा खाल्डो देखिएपछि मंगलबारदेखि नै उडानहरू रोकेर मर्मत थालिएको थियो।
विमानस्थल कार्यालयका अनुसार निर्माण कार्य शनिबारसम्म सम्पन्न गरेर नियमित उडान सञ्चालन गर्ने तयारी भइरहेको छ।
हाल सुर्खेत विमानस्थलबाट बुद्ध एयर र श्री एयरलायन्सले दैनिक चार उडानमार्फत सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा सेवा दिँदै आएका छन्। तर, विमानस्थल बन्द हुँदा यात्रुहरू नेपालगञ्जसम्म करिब तीन घण्टा सडक यात्रा गरेर काठमाडौं आउने–जाने बाध्यता भोगिरहेका छन्।























