काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ १० गते सातदिने चीन भ्रमणमा जाँदैछिन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको औपचारिक निमन्त्रणामा भण्डारी चीन जान लागेकी हुन्। भ्रमण टोलीमा नेकपा (एमाले)का विभिन्न नेताहरू पनि सहभागी हुने भएका छन् ।
भ्रमणमा सहभागी हुने नेताहरूमा एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेतृ गोमा देवकोटा र देवी भट्टचन रहेका छन् । ती सबै नेता पूर्वराष्ट्रपति भण्डारीका निकट सहयोगीहरूका रूपमा चिनिन्छन् ।
भण्डारी र उनका सहयोगीहरूले चिनियाँ राजधानी बेइजिङमा रहँदा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूका साथै सरकारी अधिकारीहरूसँग शिष्टाचार भेटघाट र छलफल गर्ने कार्यक्रम तय भएको छ । यद्यपि, कस–कससँग भेटघाट हुने भन्ने विस्तृत तालिका भने सार्वजनिक गरिएको छैन ।
यो भ्रमण राजनीतिक वृत्तमा विशेष चासोको विषय बनेको छ । विशेषगरी भण्डारीको सम्भावित सक्रिय राजनीतिक पुनरागमनको सन्दर्भमा । हालका दिनहरूमा भण्डारी एमालेको सक्रिय भूमिकामा फर्कने तयारीमा रहेको चर्चा चलिरहेको छ । यस्तो बेला उनीनिकटका एमाले नेताहरूको साथमा चीन जानु, उनले अन्तर्राष्ट्रिय समर्थन—विशेषगरी छिमेकी चीनसँगको सम्बन्ध सुदृढ गर्न खोजेको संकेतका रूपमा हेरिएको छ ।
गत वर्ष पनि भण्डारीले चीन जान पहल गरेकी थिइन् । तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको असहमतिको कारण भ्रमण स्थगित भएको चर्चा थियो । यसपटक भने ओली स्वयंको समन्वयबिना आफ्नै सर्कलका नेताहरू लिएर चीन जान लागेको संकेत विश्लेषकहरूले गरेका छन् ।
चीन भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, पार्टीस्तरीय सहकार्य, रणनीतिक साझेदारी तथा क्षेत्रीय कूटनीति लगायत विषयमा छलफल हुने अपेक्षा गरिएको छ । चीनले नेपालका पूर्वराष्ट्रपतिलाई राजनीतिक ‘पर्सनालिटी डिप्लोमेसी’ को दृष्टिले हेर्ने गरेको परिप्रेक्ष्यमा भण्डारीको यो भ्रमण विशेष अर्थ बोकेको विश्लेषण भइरहेको छ ।
विद्या भण्डारीलाई चीनले स्वागत गर्दै निकट भविष्यमा नेपालका कम्युनिष्टहरूलाई एकता गर्ने बुझिएको छ । तर, यसलाई ओलीले रुचाएका छैन ।























