काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा सेनाद्वारा सञ्चालित एक विद्यालयका विद्यार्थी चढेको बसमा बुधबार भएको आत्मघाती आक्रमणमा परी कम्तीमा चार बालबालिकाको मृत्यु हुनुका साथै ३० भन्दा बढी घाइते भएका छन् ।
बलुचिस्तान प्रान्तको खुजदार जिल्लाका एक वरिष्ठ स्थानीय सरकारी अधिकारी यासिर इक्बाल दश्तीले एएफपीसँग भने, ‘एपीएस (आर्मी पब्लिक स्कूल) का बालबालिकालाई लक्षित गरी बसमा आक्रमण गरिएको छ ।
उनले भने, ‘प्रारम्भिक अनुसन्धानले यो आत्मघाती बम विस्फोट भएको ठहर गरेको छ ।’ एक वरिष्ठ प्रहरी अधिकारीले मिडियासँग कुरा गर्ने अधिकार नभएको बताउँदै नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने, ‘आक्रमणबाट पाँच बालबालिकाको मृत्यु भएको र थप केही व्यक्ति गम्भीर घाइते अवस्थामा रहेकाले यो संख्या बढ्न सक्ने बताए ।’
यसैबीच सेनाले एक विज्ञप्ति जारी गर्दै तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको जनाएको छ । यस विद्यालयले त्यस क्षेत्रमा बसोबास गर्ने सैनिक र सर्वसाधारणका छोराछोरीलाई सेवा प्रदान गर्दछ ।
सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरमा एउटा झ्याल फुटेको स्कूल बसको भग्नावशेष, र घटनास्थल नजिकै राखिएको स्कुल ब्यागको थुप्रो देखिएको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले एक वक्तव्य जारी गर्दै ‘क्रूरता’को सिकार भएका बालबालिकाका परिवारप्रति सहानुभूति व्यक्त गरेका छन् ।
शरिफले लडाकूहरूलाई क्षेत्रीय प्रतिद्वन्द्वी भारतले समर्थन गरेको आरोप पनि लगाए । इस्लामाबादले भारतमाथि नियमित रूपमा बलोच पृथकतावादीसहित भूमिगत संगठनहरूलाई समर्थन गरेर पाकिस्तानमा उग्रवादलाई बढावा दिएको आरोप लगाउने गरेको छ । हालैका वर्षहरूमा पाकिस्तानमा भूमिगत गिरोहहरूले आक्रमणहरूलाई तीव्र पारेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘भारतीय संरक्षणमा सक्रिय आतंककारीहरूले स्कूल बसमा निर्दोष बालबालिकामाथि आक्रमण गर्नु उनीहरूको शत्रुताको स्पष्ट प्रमाण हो ।
आणविक शक्ति सम्पन्न छिमेकीहरूले दशकौँपछिको सबैभन्दा गम्भीर द्वन्द्व अन्त्यका लागि युद्धविराम गरेको केही हप्तापछि भएको यस बम आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन ।
बलोच लिबरेशन आर्मी (बीएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र यसले प्रायः सुरक्षा बलहरूविरुद्ध घातक आक्रमणहरू गर्दछ । इस्लामिक स्टेट समूहको स्थानीय च्याप्टरका साथै पाकिस्तानी तालिबानले पनि यस क्षेत्रमा भएका केही पछिल्ला आक्रमणहरूको जिम्मेवारी लिएको छ ।
गत मार्चमा बीएलएले सयौँ यात्रु बोकेको रेल नियन्त्रणमा लिएपछि भएको झडपमा दर्जनौं लडाकू र सुरक्षा बलका सदस्यको मृत्यु भएको थियो । सन् २०१४ मा उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावरमा रहेको सैनिक विद्यालयमा बन्दुकधारीले आक्रमण गरी १५० भन्दा बढी व्यक्तिको ज्यान लिएका थिए ।
यस भयानक आक्रमणपछि पाकिस्तानले सीमावर्ती क्षेत्रमा वर्षौदेखि फस्टाउँदै आएको उग्रवादविरुद्ध व्यापक कारबाही सुरु गरेको थियो ।


विश्व खबर 


















