images
images
  • सांसद कुसारीद्वारा समिति सभापति साहमाथि माइक र नेमप्लेट प्रहार

    काठमाडौं – प्रतिनिधि सभाको महिला तथा सामाजिक समिति बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले समिति सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेट प्रहार गरेकी छन्।

    बुधबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बैठक चलिरहेका बेला सांसद कुसारी र सभापति साहबीच भनाभन भयो। सभापति साहले कुसारी बैठकमा ढिलो उपस्थित भएको र अनुमति नलिई बोल्न थालेको विषय उठाएपछि विवाद चर्किएको हो।

    ‘उहाँ ढिला आउनुभयो, अनुमति नलिइकन बोल्न थाल्नुभयो। माइक फाल्नुभयो, धन्न मतर्फ आएन, सांसदहरू तर्फ गयो’, सभापति साहले भने, ‘बैठकमा अनाथालय, वृद्धाश्रम र बाल सुधार गृहहरूको अनुगमन सम्बन्धी विषय छलफलमा थियो।’

    सांसद कुसारीले भने सभापति साहले निरन्तर रूपमा महिला सांसदहरूप्रति उपेक्षापूर्ण व्यवहार गर्दै आएको आरोप लगाइन्। उनले सभापति साह आफैं संयोजक भई अनुगमनमा जाने, आफ्ना छोरालाई स्वकीय सचिव बनाएर अनुगमनमा लैजाने, खाली बिल स्वीकृत गराउने लगायतका अनियमितता गर्दै आएको दाबी गरिन्।

    उनका अनुसार अघिल्लो वर्ष बारा, पर्सा लगायत जिल्लामा अनुगमनका क्रममा आफूसहित अन्य दुई सांसद वीरगन्ज गएको घटनापछि सभापतिले भेदभाव गर्न थालेका थिए। उनले समितिका धेरै सदस्य सभापति साहसँग असन्तुष्ट रहेको पनि बताइन्।

    ‘मैले माइक र नेमप्लेटले हानेको हो, तर लागेन। बैठकमा भनाभन भयो’, कुसारीले भनिन्, ‘अब या त म त्यो समितिमा बस्दिनँ, या सभापति हट्नुपर्छ भन्ने मेरो माग छ।’

    उनले सभापति साहले एनजिओ तथा आइएनजिओसँग मिलेर व्यक्तिगत लाभका लागि अनुगमन भ्रमण गर्दै आएको आरोप पनि लगाइन्। यस्तै व्यवहारका कारण आफूले यसअघि पनि सभामुखलाई जानकारी गराइसकेको कुसारीको भनाइ छ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images