images
images
  • गठबन्धनमा टर्यो अविश्वासको संकट : पौडेल गभर्नर नियुक्त, अर्थतन्त्र उकास्ने चुनौती

    काठमाडौं – देशको अर्थतन्त्रमा देखिएका गम्भीर चुनौतीबिच अर्थशास्त्री डा. विश्वनाथ पौडेल नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर नियुक्त भएका छन् । यससँगै सत्तासाझेदार कांग्रेस–एमालेबिचको अविश्वासको गाँठो पनि खुकुलो भएको छ । पौडेलका सामु केही समयदेखि गतिहीनजस्तै बनेको वित्तीय क्षेत्र गतिशील बनाउनुका साथै राष्ट्र बैंकको गिरेको छवि सुधार गर्नु मुख्य चुनौती छ । उनी राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पनि हुन् ।

    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिबाट सिफारिस भएका तीन नाममध्ये डा. पौडेललाई गभर्नरका लागि छनोट गरेको हो । गभर्नर सिफारिस गर्न गठित समितिको सदस्यबाट डा. पौडेलले २८ वैशाखमा राजीनामा दिएपछि उनी आफैँ उम्मेदवार बनेका थिए ।

    सिफारिस समितिको मंगलबार बसेको बैठकले डा। पौडेलसहित नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । त्यसपछि मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा. पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय लिएको थियो ।

    नवनियुक्त गभर्नर पौडेलले आफ्नो पहिलो प्राथमिकता मौद्रिक नीति तथा उपकरणमार्फत् अर्थतन्त्र सुधारमा टेवा पुर्याउने बताए । ‘पहिलो प्राथमिकता मौद्रिक नीति तथा उपकरणमार्फत् अर्थतन्त्र सुधारमा टेवा पुर्याउने हो । वित्त नीतिसँग मौद्रिक नीतिको तालमेल कायम गर्नेगरी भूमिका खेल्नेछु । राष्ट्र बैंकको सुपरीवेक्षण क्षमता बढाउछु । नियमनभन्दा बढी सुपरीवेक्षणमा मेरो ध्यान हुनेछ । देशलाइ सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट बाहिर निकाल्न राष्ट्र बैंककोतर्फबाट भूमिका खेल्नेछु । राष्ट्र बैंकको निरपेक्ष स्वायत्तामा कायम राख्न पहल गर्नेछु,’ उनले भने ।

    नयाँ गभर्नरले मुलुकको आर्थिक स्थायित्व, मौद्रिक नीतिको प्रभावकारिता र वित्तीय अनुशासन पुनःस्थापना गर्नुपर्ने जानकार बताउँछन् । मूलतः नवनियुक्त गभर्नर पौडेलसामु राष्ट्र बैंकको गिरेको छवि उठाउनुपर्ने प्रमुख चुनौती रहेको जानकारको टिप्पणी छ ।

    गभर्नर नियुक्तिमा राजनीतिक नेतृत्वबिचको रस्साकस्सीले गिराएको राष्ट्र बैंकको छवि पुनःस्थापित गर्ने र स्वायत्तता जोगाउने चुनौती नवनियुक्त गभर्नरसामु रहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘गिरेको छवी एकैपटकमा पुनःस्थापित हुँदैन । व्यावसायिक ढंगले काम गर्दै यसलाई सुधार्नसक्नुपर्छ’ उनी भन्छन्, ‘सरकारी निकायहरूले राष्ट्र बैंक ऐन र अन्तर्राष्ट्रिय अभ्यास नहेरि दस्तावेजहरूमा राष्ट्र बैंकको स्वायत्तता हनन हुने गरि लेख्न थालेका छन् । स्वायत्तता जोगाउनु चुनौतीपूर्ण छ ।’

    गतिहीन अवस्थाको वित्तीय क्षेत्र गतिशील बनाउनुपर्ने अर्को चुनौती रहेको थापाको विश्लेषण छ । उनले भने, ‘निक्षेप बढिरहेको छ, ब्याजदर सस्तो बनेको छ । तर, कर्जा प्रवाह हुन सकेको छैन । विगतमा वित्तीय क्षेत्रको दरुपयोग भएर यस्तो भएको हो । अन्तर्राष्ट्रिय असल अभ्यास भित्र्याउनुपर्ने चुनौती पनि देखिन्छ ।’

    राष्ट्र बैंकसमेतको कमजोरीले मुलुक सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा परेकाले गभर्नरको प्राथमिकता कमजोरी सुधारमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ । ‘राष्ट्र बैंक समेतको कमजोरीले ग्रे लिस्टमा परेको हो । राष्ट्र बैंकले सुपेरिवेक्षण चुस्त बनाउनुपर्छ’, उनले भने, ‘अहिले समस्यामा रहेको सहकारीको नियमन र निरीक्षणबाट राष्ट्र बैंक पन्छिएको छ । वित्तीय कारोबार गर्ने सहकारी संस्थालाई पनि नियमन गर्नुपर्ने चुनौती छ ।’

    उनकाअनुसार चौपट उद्यमशीलता राम्रो बनाउनपर्ने र स्रोतको दरुपयोग रोक्नुपर्ने उनको मत छ । ‘वित्तीय पहुँच विस्तार नहुँदा मिटरब्याज पीडितकोे संख्या बढिरहेको छ । यी समस्याको समाधान गर्नुपर्ने चुनौती गभर्नरको हो,’ उनले भने ।

    पूर्वगभर्नर चिरञ्जीवी नेपालले मुलुकलाई ग्रे लिस्टबाट बाहिर ल्याउनुपर्ने र आन्तरिक अर्थतन्त्र चलायमान बनाउनुपर्ने मुख्य चुनौती रहेको उल्लेख गरे । ‘आन्तरिक रुपमा अर्थतन्त्र चलायमान बनाउनुपर्ने प्रमुख जिम्मेवारी गभर्नरको हो । गभर्नरले लिने सही निर्णयबाट नै अर्थतन्त्रको समस्याले निकास निकाल्न सक्छ,’ उनले भने ।

    अर्थशास्त्री पुष्कर बज्राचार्यले गर्भनर छनोट प्रक्रियामा देखिएको रस्साकस्सीले नकारात्मक सन्देश दिएको भन्दै यसलाई सकारात्मक बनाउनुपर्ने बताउँछन् । ‘विश्वजी अध्ययनका हिसाबले योग्य व्यक्ति हुनुहुन्छ । तर, वर्तमान आर्थिक समस्यालाई समाधान गर्न उहाँले कस्तो काम गर्नुहुन्छ भन्ने हेर्नुपर्ने हुन्छ’, उनी भन्छन्, ‘व्यावसायिक वातावरण बनाउनुपर्ने चुनौती नयाँ गभर्नरसामू छ । भोलिका दिनका लागि तत्काल सुधार गर्नुपर्ने हुन्छ । विगतमा जस्तो ‘रिजिड’ सोचाइले राष्ट्र बैंक चलाउनुहुँदैन ।’

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images