काठमाडौं – मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय गरिएको थियो । सांसदहरूले आफ्ना प्रश्न अग्रिम बुझाइसकेका थिए । प्रधानमन्त्री केपी ओलीलाई प्रश्न सोध्न सांसदहरू तयारीका साथ संसद् भवन पनि पुगिसकेका थिए । तर, संसद् सुरु हुनै लाग्दा ओलीले बालुवाटारबाट सूचना पठाए– ‘स्वास्थ्य अवस्था ठिक भएन, आउन नसक्ने भएँ ।’ सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार स्वास्थ्यको कारण प्रधानमन्त्री उपस्थित हुन नसक्ने भएपछि कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइयो ।
तर, अस्वस्थ रहेको भन्दै संसद्मा अनुपस्थित प्रधानमन्त्री ओली त्यहीवेला बालुवाटारमा सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्तामा व्यस्त रहे । गभर्नर नियुक्तिमा बढेको असमझदारी टुंग्याउन ओली–देउवा वार्तामा बसेका थिए । गभर्नरको विवाद टुंग्याएपछि प्रधानमन्त्रीले डा. विश्व पौडेललाई नियुक्त गर्न साँझ बालुवाटारमै मन्त्रिपरिषद् बैठक राखे का थिए।























