काठमाडौं – काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ। गत चैत २१ गते प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएको घटनालाई लिएर स्पष्टीकरण सोधिएको हो।
महानगरका उपप्रमुख सुनिता डंगोलको सक्रियतामा प्रशासकीय अधिकृत गुरागाईंले स्पष्टीकरण पत्र पठाएका हुन्। सो पत्रमा पाण्डेले उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूको बारम्बारको अनुरोध अस्वीकार गर्दै कार्यकक्षको ताला खोल्न अवरोध गरेको उल्लेख छ।
चैत २१ गते गुरागाईं काठमाडौँ भ्यू टावर नक्सा विवादपछि बिदापछि कार्यालय हाजिर हुन पुगेका थिए। त्यसबेला उपमेयर डंगोलको साथमा पुगेका गुरागाईंलाई नगर प्रहरी बलले कार्यालय प्रवेशमा रोक लगाएको थियो।
स्पष्टीकरण पत्रमा प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने सरकारी गाडीमा ह्वील लक किन गरिएको ? नगर प्रहरी परिचालन गरी कार्यालय छिर्न अवरोध गर्दै आतंक सृजना किन गरिएको ? कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरूको बाटो छेकेर अभद्र र अमर्यादित व्यवहार किन गरिएको ? जस्ता प्रश्नहरू उठाइएको छ।
त्यस्तै, कार्यकक्षमा तालाबन्दी किन गरियो ? हाजिर पुस्तिका कब्जामा किन लिइयो ? बारम्बारको अनुरोधपछि पनि ताला किन नखोलिएको ? भन्ने विषयमा पनि जवाफ मागिएको छ।
प्रशासकीय अधिकृत गुरागाईंले भने, ‘७ दिनको म्याद दिएर स्पष्टीकरण सोधिएको हो। चित्तबुझ्दो जवाफ आउँछ कि आउँदैन, हेर्नुपर्छ।’
महानगर स्रोतका अनुसार, यदि सोधिएको स्पष्टीकरण समयमा नबुझाएमा वा चित्तबुझ्दो नपाएमा कानुनअनुसार आवश्यक कारबाही अघि बढाइनेछ।























