चितवन – चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्न सिफारिस गरिएको छ। जिल्ला समन्वय समिति चितवनको आयोजनामा मंगलबार सम्पन्न सरोकारवालाहरूको बैठकले सर्वसम्मत रूपमा उक्त सिफारिस गर्ने निर्णय गरेको हो।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकमा जिल्लाका सातवटै स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवाला निकायको सहभागिता थियो। बैठकले चितवनलाई बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा पर्यटकीय राजधानीको रूपमा घोषणा गर्न औपचारिक सिफारिस गर्ने निर्णय गरेको छ।
भरतपुर महानगर प्रमुख रेनु दाहालका अनुसार, चितवन नेपालकै प्रमुख पर्यटकीय गन्तव्य हो, जहाँ जैविक विविधता, वन्यजन्तु अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटक आकर्षित हुने गरेका छन्।
बागमती प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा बढी पर्यटकीय गतिविधि हुने तथ्याङ्कले देखाउँछ। नेपाल सरकारको ‘१०० गन्तव्य’ योजनामा सूचीकृत बिस हजार ताल, पटिहानी र सोमेश्वर गढी यहाँ पर्दछन् भने ‘एक जिल्ला, एक उत्कृष्ट गन्तव्य’ अन्तर्गत मेघौली पनि चितवनमै पर्छ।
पर्यटन विज्ञ विश्वराज सुवेदीका अनुसार, चितवनमा प्राकृतिक, साँस्कृतिक, धार्मिक र साहसिक गन्तव्यहरूको उत्कृष्ट संयोजन छ। यहाँ पर्यटकका लागि सहज पहुँच, पर्याप्त आवास सुविधा, सूचना केन्द्र र अन्य आवश्यक पूर्वाधारहरू पनि उपलब्ध छन्, जसले चितवनलाई पर्यटकीय राजधानी बनाउन उपयुक्त बनाउँछ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष प्रकाश ढुङ्गनाले जिल्लाको पर्यटन निकुञ्जमै आधारित भएकाले यसको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्ने बताए।
भरतपुर महानगरपालिकाले सुरु गरेको ‘भरतपुर भ्रमण वर्ष २०२४’ अभियानले स्थानीय पर्यटन प्रवर्द्धनमा सकारात्मक आर्थिक प्रभाव पारेको उल्लेख गर्दै जिल्ला समन्वय समिति प्रमुख अधिकारीले राजधानी घोषणाले चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा थप पहिचान दिलाउने विश्वास व्यक्त गरे।
पर्यटन विज्ञहरूका अनुसार, चितवनको पर्यटन क्षेत्रमा हालसम्म ५० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। जिल्लामा १५ हजार पर्यटक शय्या ९बेड० क्षमतासहित ६० भन्दा बढी पर्यटकीय गन्तव्यहरू रहेका छन्।























