images
images
  • सत्ता गठबन्धनमा खटपट, कांग्रेस बहिर्गमनको तयारीमा

    काठमाडौं  । सत्ता गठबन्धनमा रहेका प्रमुख दलहरूबीच पछिल्लो समय बढ्दो असहजता देखिएको छ। विशेषगरी नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीचको मतभेद खुल्दै जाँदा सत्ता गठबन्धनमै दरार आउने संकेत देखिन थालेको हो।

    सोमबार नेपाली कांग्रेस कास्की–३ को दोस्रो क्षेत्रीय सम्मेलनमा बोल्दै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले अहिलेको सत्ता गठबन्धन सहज ढंगले अगाडि नबढिरहेको स्वीकार गरे। “गठबन्धनमा अर्काको दृष्टिकोण बुझ्नुपर्छ,” उनले भने, “हामीले गभर्नरको पदमा एकजना प्राविधिक तथा व्यावसायिक व्यक्ति ल्याउनुपर्ने माग गरेका छौं। तर सहमतिको अभावमा अन्योल छ।”

    यसै दिन, कांग्रेस महामन्त्री गगन थापाले राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पार्टीभित्र चुलिंदो असन्तुष्टिको संकेत गरे। “सबै ठाउँमा कांग्रेस छ, वडादेखि संघसम्म। प्रधानमन्त्री हाम्रो, अब बन्ने प्रधानमन्त्री पनि हाम्रो। तर किन खुसी छैन कांग्रेस ? किनभने हामीले खोजेको शक्ति–साझेदारी त्यो थिएन,” थापाले बताए।

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच गभर्नर नियुक्तिका लागि सहमति नजुटेपछि सोमबार मन्त्रिपरिषद् बैठकसमेत स्थगित गरिएको हो। “गभर्नर नियुक्ति सिफारिस समितिको बैठक नबसेपछि मन्त्रिपरिषद् बैठक रोकिएको हो,” एक मन्त्रीले जानकारी दिए।

    कांग्रेसभित्र सत्ता समीकरण फेरबदलको चर्चा

    कांग्रेसको शीर्ष तहमा अहिले सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न थालेको छ। स्रोतका अनुसार, सभापति देउवासहित पार्टीभित्रको एकथरी नेताहरू ओली नेतृत्वसँग लामो समय सहकार्य गर्न नहुने निष्कर्षमा पुगिसकेका छन्। तर सँगै विश्वसनीय विकल्प नदेखिएपछि तत्काल गठबन्धन तोड्ने आँट गर्न सकेका छैनन्।

    प्रतिनिधिसभामा सरकार बनाउन १३८ सांसद आवश्यक पर्छ। अहिले कांग्रेससँग ८८ सांसद छन्। माओवादी केन्द्रका ३२, नेकपा समाजवादीका १० र संघीय लोकतान्त्रिक मोर्चाका १९ सांसदलाई कांग्रेसले साथ पाउने अनुमान छ। यसरी कांग्रेसको पक्षमा १४९ सांसद उभिन सक्ने अवस्था देखिए पनि देउवालाई स्थायित्व र विश्वासको अभावले अघि बढ्न रोकिरहेको एक नेताको भनाइ छ।

    साना दलहरूप्रति कांग्रेसको आशंका

    गठबन्धन फेरबदलमा साना दलहरूको भूमिकालाई लिएर पनि कांग्रेस सजग देखिएको छ। नागरिक उन्मुक्ति पार्टीभित्र अध्यक्ष रञ्जिता श्रेष्ठ एमाले पक्षमा खुलेकी छन् भने संरक्षक रेशम चौधरी कांग्रेसको पक्षमा छन्। यस्तै, जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व पाइरहेकाले संघीय सत्ता समीकरण बदल्दा उनीहरूको साथ ग्यारेन्टी छैन।

    यसबीच, माओवादी केन्द्रप्रति पनि कांग्रेसको विश्वास कमजोर देखिन्छ। अध्यक्ष प्रचण्डले अघिल्ला सहकार्यमा धोका दिएको अनुभव सुनाउँदै कांग्रेस नेताहरू तत्काल माओवादीको साथ लिएर जोखिम मोल्न तयार छैनन्।

    दलहरूबाट मिश्रित प्रतिक्रिया

    नेपाली कांग्रेसभित्र अहिले दुई धार देखिन्छन्। एकथरी नेताहरू गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउँदै छन् भने अर्का धारले विकल्प खोज्नुपर्ने तर्क गरिरहेका छन्। कांग्रेस नेता एनपी साउदले सरकारको काम प्रभावकारी नभए पनि अहिले विकल्प खोज्ने बेला नभएको बताए। अर्कातर्फ नेता गुरुराज घिमिरेले भने, “सरकारले सुधार नगरे विकल्प खोज्नुपर्ने अवस्था आउँछ।”

    गठबन्धनभित्र बढ्दो असन्तुष्टि, गभर्नर नियुक्तिमा देखिएको गतिरोध र कांग्रेस नेताहरूका सार्वजनिक अभिव्यक्तिहरूले सत्ता गठबन्धन संकटतर्फ उन्मुख भएको संकेत देखिएको छ। तर देउवाको नेतृत्वमा कांग्रेसले स्पष्ट रणनीति तय नगरेसम्म, तत्काल कुनै नाटकीय फेरबदल हुने सम्भावना भने न्यून देखिन्छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images