काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १ साता लामो चीन भ्रमणमा जाने भएकी छन् । चिनियाँ कम्युनिस्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी १० जेठमा चीन भ्रमणमा जान लागेकी हुन् ।
भ्रमणमा एमालेका नेताहरू पनि सहभागी हुने र उच्च राजनीतिक भेटघाट हुने कार्यक्रम तय भएको छ । उद्योगमन्त्री दामोदर भण्डारी, पूर्वमन्त्री तथा एमालेका नेता कर्ण थापालगायतको टोली भ्रमणमा जाने छन् ।
भण्डारीको चीन भ्रमण गत वर्ष जेठमै तय भएको थियो तर अन्तिम समयमा स्थगित भएको थियो ।त्यसबेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा जाने भएपछि भ्रमण रोकिएको थियो ।
त्यसबेला दाहालले आफू भारत जान लागेका बेला पूर्वराष्ट्रपति चीन जाँदा गलत सन्देश जाने सुझाएका थिए । त्यसबेला रोकिएकी भण्डारी यस पटक चीन यात्रामा निस्किन लागेकी हुन् । चीन भ्रमणमा रहँदा पूर्वराष्ट्रपति भण्डारीले उच्च राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम तय भएको छ तर को–कोसँग भेटवार्ता हुने भन्ने अहिलेसम्म खुलाइएको छैन ।
भण्डारीको सचिवालयका अनुसार भ्रमण तालिका तयार भइरहेको छ । पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने कार्यतालिका छ । यद्यपि, चिनियाँ राष्ट्रपति सी चिनफिङँसँगको भेटवार्ता भने तय भएको छैन ।
स्रोतका अनुसार भण्डारीले सकेसम्म माथिल्लो तहकै चिनियाँ नेताहरूसँग भेट गर्ने तयारी छ । भण्डारीले राष्ट्रपति सी चिनिफिङ, प्रधानमन्त्री ली किआङ, उपराष्ट्रपति हान जिङ र चिनियाँ कम्युनिस्ट पार्टीका उच्च नेताहरूलाई समेत भेट्ने प्रयासमा छन् ।
गत वर्ष असारमा तय भएको पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण अन्तिम समयमा स्थगित भएको थियो ।नेपाली राजनीतिक तरलताका बीच भण्डारीको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
नेपालका कम्युनिस्टहरूबीच एकता हुनुपर्ने आवाज उठिरहेका बेला पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जान लागेकी हुन् ।कम्युनिस्ट एकताको पक्षमा रहेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा आउनसमेत प्रयासरत छन् ।
चीन नेपालमा कम्युनिस्ट एकताको पक्षमा छ । २ पटक राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किने तयारीमा छन् ।भण्डारी आगामी महाधिवेशनबाट एमालेको नेतृत्वमा आए अलग भएका कम्युनिस्ट पार्टीहरू जोड्ने माध्यम बन्ने राजनीतिक वृत्तमा चर्चा छ ।
उनले राष्ट्रपतिबाट बिदा भएपछि पछिल्लो समय गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा पुगेर एमालेका सयौं नेता–कार्यकर्तालाई भेटघाट गरेकी छन् । त्यहाँ उनले आफू सक्रिय हुने आशय व्यक्त गरेकी थिइन् ।
भण्डारीले सार्वजनिक कार्यक्रम र अन्तर्वार्ताहरूमा समेत आफू राजनीतिमा फर्किने संकेत गरिसकेकी छन् । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन नेकपा (माओवादी केन्द्र)मा उपाध्यक्ष बन्दै राजनीतिमा फर्किसकेका छन् ।
पुनले राजनीतिमा फर्किने बाटो खोलेसँगै भण्डारीले नेपालमा राजनीतिक संवादलाई बाक्लो बनाइरहेका बेला चीन यात्रा गर्न लागेकी हुन् ।
उपाध्यक्ष घिमिरे चीन प्रस्थान
राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे ६ दिने औपचारिक भ्रमणका लागि सोमबार चीनको सान्सी प्रान्तको सियान शहर गएकी छन् । उपाध्यक्ष घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन् ।
चीनको सान्सी प्रान्तको सियान शहरमा ५ देखि १० जेठसम्म हुने ‘सांघाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च’ र ‘नवौं सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा पूर्व र पश्चिम चीनबीच सहयोगका लागि लगानी र व्यापार मञ्च’मा सहभागी हुने कार्यक्रम छ । दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने छन् ।
उनीसँगै प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव र उर्मिला माझी, राष्ट्रियसभा सदस्य बेदुराम भुसाल र सुमित्रा बीसी, संसद् सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह प्रतिनिधिमण्डलमा छन् ।























