काठमाडौँ । राहदानी विभागको ६४ लाख पासपोर्ट छपाइको टेन्डर प्रक्रियाबाट अमेरिकी कम्पनी बाहिरिएको छ । विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा प्याकेज १ मा २ कम्पनी मात्रै प्राविधिक मूल्यांकनमा छनोट भएका छन् । प्याकेज २ मा भने ४ वटा कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन् । विभागले आर्थिक प्रस्तावका लागि २८ मे अर्थात् आगामी जेठ १४ गते आर्थिक प्रस्ताव खोल्ने जनाएको छ ।
राहदानी विभागले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार प्याकेज १ मा जर्मनीको मुलबउर र फ्रान्सको आईडेमिया छनोट भएका हुन् । त्यसैगरी प्याकेज २ मा मुलबउर, आईडेमिया, भेरिडोस र पीडब्लु पीडब्लु कम्पनी प्राविधिक मूल्यांकनमा छनोट भएका छन् । पासपोर्ट छपाइका लागि प्याकेज १ मा ३ कम्पनीले आवेदन दिएका थिए भने प्याकेज २ मा ४ कम्पनीको आवेदन परेको थियो । प्याकेज १ मा फ्रान्सेली कम्पनी आईडेमिया, अमेरिकी कम्पनी आइरिसिस र जर्मन कम्पनी मुलबउर सहभागी थिए । प्याकेज नम्बर २ मा आईडेमिया, जर्मन कम्पनी मुलबउर, पोल्यान्डको पीडब्लु पीडब्लु र जर्मनकै भेरिडोसले आवेदन दिएका थिए ।
६४ लाख पासपोर्ट छपाइका लागि विभागले मंसिर १३ मा पहिलोपटक टेन्डर आह्वान गरेको थियो । तर एक कम्पनीलाई मात्र फाइदा पुग्ने गरी टेन्डर आह्वान गरिएको भन्दै विवादमा प¥यो । फ्रान्सको बहुराष्ट्रिय कम्पनी आइडेमियाको प्रभावमा परी स्पेसिफिकेसन तयार गरेको आरोप लागेपछि विभागले १२ जनवरीसम्म आवेदन दिने व्यवस्थालाई १ महिना थप गरेको थियो । बीचमा टेन्डर डकुमेन्ट संशोधन भएपछि अन्तिम समयमा फ्रेबुअरी २१ सम्म पु¥याइयो । प्याकेज नम्बर १ र २ मा फ्रान्स र जर्मनीका एकै कम्पनी सहभागी भएका छन् । हाल पासपोर्ट छपाइ गरिरहेको आइडेमिया दुवै प्याकेजमा सहभागी छ ।


विश्व खबर 


















