images
images
  • देउवाले भेटेनन् ओलीलाई, गभर्नर नियुक्ति अनिश्चित

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज साँझ तय भएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको छ। दुई शीर्ष नेताबीच साँझ ७ बजे बालुवाटारमा भेट हुने सहमति बनेको थियो, तर देउवा ओलीलाई भेट्न नगएपछि सो भेटवार्ता टुंगिएको छैन।

    स्रोतका अनुसार, दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सम्बन्धी विषयमा छलफल हुने तय भएको थियो। तर देउवाले अन्तिम घडीमा प्रधानमन्त्रीलाई नबेेटेपछि सो विषयमा सहमति खोज्ने प्रयास पनि असफल भएको हो।

    प्रधानमन्त्रीसँग देउवाको भेट नहुनुका कारण मन्त्रिपरिषद् बैठक पनि अनिश्चित बनेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नेपालखबरसँग भने, “अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्ने कुनै जानकारी आएको छैन।”

    गभर्नरविहीन राष्ट्र बैंक

    यसबीच, राष्ट्र बैंकमा नेतृत्वविहीन अवस्था अझ लम्बिने संकेत देखिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जेठ १ गते आयोजित पत्रकार सम्मेलनमा चार दिनभित्रै नयाँ गभर्नर नियुक्त गरिसक्ने दाबी गरेका थिए। तर चैत २५ यता गभर्नरविहीन अवस्थामा रहेको राष्ट्र बैंक अझै स्पष्ट दिशानिर्देशनविनै छ।

    सरकारी निकायभित्र शक्ति सन्तुलन, दलगत प्रतिस्पर्धा र स्वार्थ समूहहरूको प्रभावले गभर्नर नियुक्ति प्रक्रिया प्रभावित हुँदै आएको छ। सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति नजुट्दा बैंकको नेतृत्व टुंगो लाग्न सकेको छैन।

    नयाँ गभर्नर नहुँदा मौद्रिक नीतिबारे स्पष्टता छैन भने महँगी नियन्त्रण, वैदेशिक मुद्रा व्यवस्थापन र वित्तीय स्थायित्व जस्ता महत्वपूर्ण क्षेत्रमा असर पर्ने चिन्ता बढेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images