images
images
  • सूर्तीजन्य पदार्थ नियन्त्रणमा नेपाललाई डब्लुएचओको विशेष सम्मान

    जेनेभा– सूर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेखनीय पहल तथा योगदान पुर्‍याएको भन्दै नेपाललाई विश्व स्वास्थ्य संगठनले सन् २०२५ को “महानिर्देशकको विशेष सम्मान” प्रदान गरेको छ।

    विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको अवसरमा जेनेभामा आयोजित विशेष कार्यक्रममा डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयससले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई उक्त सम्मान प्रदान गरे।

    डब्लुएचओले प्रत्येक वर्ष ३१ मे (विश्व सूर्तीविरुद्धको दिवस) का अवसरमा सूर्तीजन्य पदार्थको नियन्त्रणमा असाधारण योगदान दिएका व्यक्ति, संस्था वा सरकारलाई सम्मान गर्दै आएको छ। यस वर्ष नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई उक्त मान्यतासहितको सम्मान प्रदान गरिएको हो।

    नेपाल सरकारद्वारा हालै गरिएको एउटा महत्वपूर्ण निर्णय लगाएत सूर्तीजन्य पदार्थको प्याकेटमा अगाडि र पछाडि दुबै भागमा सय प्रतिशत चेतावनीजन्य सूचना अनिवार्यरूपमा छाप्नुपर्ने नीतिलाई डब्लुएचओले ऐतिहासिक कदमका रूपमा लिएको जनाएको छ।

    मन्त्री पौडेल नेतृत्वमा बनेको निर्णय अनुसार अब सूर्तीजन्य पदार्थका प्याकेटहरूमा प्रस्ट, चित्रसहितका स्वास्थ्य चेतावनीहरू राख्नुपर्नेछ, जसले प्रयोगकर्ताहरूमा प्रभावकारी सन्देश पुर्‍याउने विश्वास गरिएको छ। यो व्यवस्था चाँडै कार्यान्वयनमा ल्याइने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य मन्त्री पौडेलले सम्मान ग्रहण गर्दै नेपालले सार्वजनिक स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकता दिएको र गैर-संक्रामक रोगहरूको जोखिम घटाउने कार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता दोहोर्याएका छन्।

    डब्लुएचओले नेपाल सरकारको पहललाई “उल्लेखनीय र अनुकरणीय” बताउँदै दक्षिण एशियाली क्षेत्रका लागि सकारात्मक सन्देशका रूपमा मूल्यांकन गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images