काठमाडौं – इन्डोनेसियाको सुदूरपूर्वी क्षेत्रमा रहेको एक सुनखानी नजिकै आएको बाढी र पहिरोमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने १४ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
उद्धारकर्मीले बेपत्ता व्यक्तिको खोजी गरिरहेका छन् । स्थानीय खोज तथा उद्धार निकायका प्रमुख येफ्री सबरुद्दिनले शुक्रबार राति पश्चिम पपुवा प्रान्तमा घण्टौँको भारी वर्षाका कारण पहिरो र बाढी आएको बताए ।
‘उपलब्ध पछिल्लो तथ्यांकअनुसार छ जनाको मृत्यु भएको छ भने १४ जना वेपत्ता भएका छन् । वेपत्ता उनीहरूको खोजी भइरहेको छ,’ उनले भने ।
राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी) का प्रवक्ता अब्दुल मुहारीका अनुसार बाढीको पानी खनिकहरूले प्रयोग गर्ने शिविरमा पसेको हो ।
‘स्थानीय समयअनुसार राति ९ः०० बजेतिर माथिबाट आएको बाढीको पानीले परम्परागत सुन खानीमा काम गर्नेहरूको अस्थायी आवास क्षेत्रमा क्षति पुर्यायो र उनीहरूका टेन्ट र उपकरणहरू बगायो,’ मुहारीले एक विज्ञप्तिमा भनेका छन् ।
खनिज–समृद्ध दक्षिणपूर्वी एशियाली राष्ट्र इन्डोनेशियामा इजाजतपत्र बिनाका खानीहरू सामान्य छन् । जहाँ परित्यक्त साइटहरूले स्थानीयहरूलाई आकर्षित गर्दछ जसले उचित सुरक्षा उपकरणबिना खानीमा बचेको सुन र अयस्कको खोजी गर्छन् ।
खानीको कानुनी अवस्थाको बारेमा कुनै आधिकारिक संकेत दिइएको छैन, जबकि येफरीले उद्धारकर्ताहरूको ध्यान पीडितहरूलाई उद्धार गर्नमा केन्द्रित रहेको बताए । प्रहरी, सैनिक र सर्वसाधारणलाई घटनास्थल पुग्न दुई घण्टासम्म समय लागेको र पैदल यात्रा समेत एक घण्टा लाग्ने गरेको येफरीले बताए । ‘त्यहाँको अवस्था अत्यन्तै विकराल छ किनभने केही सडकहरू क्षतिग्रस्त भएका छन् । त्यसैले सवारी साधनले यो क्षेत्र पार गर्दा सावधानी अपनाउनुपर्छ,’ उनले भने ।
इन्डोनेसियामा विशेषगरी नोभेम्बरदेखि अप्रिलको बीचमा पहिरो जाने सम्भावना हुन्छ । गत सेप्टेम्बरमा पश्चिम सुमात्रामा रहेको अवैध सुन खानीमा गएको पहिरोमा परी १३ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए ।
इन्डोनेसियाको सुलावेसी टापुमा गत बर्षको जुलाइमा गएको पहिरोमा परी त्यहाँ रहेको अवैध सुनखानी नजिकै कम्तीमा २७ जनाको मृत्यु भएको थियो ।


विश्व खबर 




















