images
images
  • गणतन्त्र दिवस मनाउने तयारीमा सरकार, भव्य प्रदर्शन गर्दै राजावादी, के भन्छ– सुरक्षा संयन्त्र ?

    काठमाडौं । गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (सोमबार)ं भएको बैठकमा गृह मन्त्रालयबाट प्रस्तुत समारोह समिति गठन र दिवसको कार्यक्रमसम्बन्धी प्रस्तावहरू छलफलसहित पारित भएको छ ।

    मूल समारोह समितिमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीहरू, काठमाडौं महानगरपालिकामा प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महानगरपालिकाका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव रहनेछन् ।

    बैठकले यही जेठ १५ गतेको उक्त दिवसका लागि यही जेठ १४, १५ र १६ गते हरेक दिन साँझ सबै सार्वजनिक निकायमा दीप प्रज्ज्वलनसहित त्रिदिवसीय रूपमा मनाउन केन्द्र, प्रदेश र स्थानीय तहका तिनै तहका सरकार र सम्बन्धित निकाय र निजी क्षेत्र र सङ्घ–संस्थालाई समेटेर तहगत समिति र उपसमितिहरू गठन गरिएको छ ।

    यस्तै विदेशस्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग तथा वाणिज्य दूतावासमा पनि कार्यक्रम तय गरिएको छ । जेठ १५ गतेको मुख्य कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा मूल समारोह समितिको कार्यक्रम हुनेछ ।

    प्रधानमन्त्री ओलीले गणतन्त्र दिवसलाई भव्यताका साथ जनस्तरमा समेत मनाउन आह्वान गर्दै यसलाई केवल औपचारिकतामा सीमित नराख्न आग्रह गरे । यस्ता मूल समारोह समितिमा पदेन रहनुपर्ने व्यक्ति (पदाधिकारी)हरू पटकपटक अनुपस्थित रहने स्थिति अन्त्य गर्न निर्देशन दिए ।

    जेठ १५ गते राजावादी आन्दोलन

    राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ ।

    बैशाख २८ मा समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकले सो दिनको प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको हो ।

    जनआन्दोलन समितिले यसअघि नै जेठ १५ गते काठमाडौंमा प्रदर्शन गर्ने घोषणा गरिसकेको थियो । उक्त दिनको आन्दोलन सफल बनाउन आवश्यक कार्यक्रम तय गर्न आइतबार बैठक बसेको जनाइएको छ ।

    ‘जेठ १५ गतेको आन्दोलनमा सहभागी हुन काठमाडौं बाहिरका जनतालाई काठमाडौं आउन आह्वान गर्ने र काठमाडौंका जनता र सबै वर्ग, पेशा र समुदायलाई सक्रिय सहभागीताका लागि आह्वान गर्ने,’ विज्ञप्तिमा भनिएको छ । उक्त दिनको आन्दोलन पूर्णतया शान्तिपूर्ण रहने समितिले बताएको छ ।

    के भन्छ सुरक्षा संयन्त्र ?

    नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापाले जेठ १५ गते राजावादी समूहले काठमाडौंमा गर्ने भनिएको प्रदर्शनलाई ध्यानमा राख्दै सबै सुरक्षा इकाइलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । साथै, संगठनभित्र देखिएको अनुशासनहीनता र आपसी झगडाबारे पनि उनले कडा चेतावनी दिएका छन् ।

    आईजीपी थापाले आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय प्रमुखहरूसँग बैठक गर्दै राजसंस्थाको पक्षमा सक्रिय समूहहरू संविधानविरोधी अभियानमा लागिरहेको भन्दै त्यसप्रति अत्यन्त गम्भीर हुनुपर्ने बताए ।

    उनले भने, ‘राजनीतिक व्यवस्था र संविधानविरोधी तत्व सल्बलाएको अवस्था देखिएको छ । त्यसलाई हल्का रूपमा नलिए हुन्छ । प्रहरी संगठनले आफ्नो भूमिकालाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

    थापाले प्रदर्शनका क्रममा कुनै पनि अराजकतापूर्ण गतिविधि सह्य नहुने स्पष्ट पारेका छन् । ‘कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,’ उनले निर्देशन दिए ।

    आईजीपी थापाको निर्देशनले प्रहरी संगठनभित्रको अनुशासन संकटलाई औँल्याउनुका साथै संविधान र गणतन्त्रविरोधी गतिविधिमाथि कडा निगरानी राख्नुपर्ने अवस्था उत्पन्न भएको स्पष्ट देखाएको छ । जेठ १५ गतेको प्रदर्शनप्रति सुरक्षा संयन्त्र सतर्क रहेको संकेत पनि यसमार्फत आएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images