काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताएका छन् । यो घोषणा रुस र युक्रेनबीच तीन वर्षभन्दा बढी समयपछि भएको पहिलो प्रत्यक्ष वार्ताको एक दिनपछि आएको हो ।
तीस दिनसम्म बिना शर्त युद्धविराम गर्न रुसलाई दबाब दिँदै आएका ट्रम्पले सोमबार पुटिनसँग फोनमा कुरा गर्ने बताएका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेसको भले सरकारी तास समाचार एजेन्सीलाई फोनवार्ताको ‘तयारी भइरहेको’ बताए ।
यसअघि शनिबार क्रेमलिनले पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको बैठक दुवै पक्षले सहमतिमा पुगेपछि मात्र सम्भव हुने बताएको थियो । दुई देशबीचको प्रत्यक्ष वार्ताले कैदीहरूको अर्को आदानप्रदानका लागि सम्झौता गरेको एक दिनपछि क्रेमलिनको यो भनाइ आएको हो ।
शनिबार बिहान युक्रेनको पूर्वी सुमी क्षेत्रमा विस्थापित नागरिकहरू बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु भएको र पाँच जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
जेलेन्स्कीले आक्रमणको निन्दा गर्दै र रुसले अहिलेसम्म युद्धविराम गर्न अस्वीकार गरेकोमा मस्कोविरुद्ध नयाँ प्रतिबन्धहरूको आह्वान दोहोर्याए । ‘कडा प्रतिबन्धबिना, रुसमाथि बलियो दबाबबिना, त्यहाँ वास्तविक कूटनीति हुनेछैन,’ उनले भने ।
आइतबार बिहान किएभ क्षेत्रका स्थानीय अधिकारीहरूले ओबुखिभ जिल्लामा ड्रोन आक्रमणमा एक महिलाको मृत्यु भएको जानकारी दिए । किएभ क्षेत्रका सैन्य प्रशासनका प्रमुख माइकोला कलास्निकले टेलिग्राम पोस्टमा एक निजी घरमा भएको आक्रमणमा एक महिला, एक पुरुष र चार वर्षीय बच्चा घाइते भएको लेखेका छन् ।
मस्कोको पूर्णस्तरको आक्रमणको केही समयपछि सन् २०२२ फेब्रुअरीमा भएको वार्तापछि इस्तानबुलमा शुक्रबार भएको पहिलो प्रत्यक्ष युक्रेन–रुस वार्तामा प्रत्येकले एक हजार कैदी आदानप्रदान गर्न सम्झौता गरेका थिए ।
युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तेम उमेरोभले अर्को कदम जेलेन्स्की र पुटिनबीचको बैठक हुने जानकारी दिए ।


विश्व खबर 




















