images
images
  • गाजा युद्धविरामबारे वार्ता : थप बन्धकहरू छोड्ने हमासको प्रस्ताव

    काठमाडौं । इजरायली सेनाले गाजापट्टीमा ठूलो नयाँ आक्रमण सुरु गरेको केही घण्टापछि हमास र इजरायलबीच नयाँ वार्ता सुरु भएको छ । उक्त वार्तामा हमासले शनिबार गाजा युद्धविराम सम्झौताअन्तर्गत थप बन्धकहरू छोड्ने प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।

    एक प्यालेस्टिनी अधिकारीले हमासले ६० दिने युद्धविराम र प्यालेस्टिनी कैदीहरू छोड्ने सर्तमा ९ बन्धक छोड्ने सहमति जनाएको बताए ।

    ती अधिकारीले नयाँ प्रस्तावित सम्झौताले हरेक दिन ४०० मानवीय सहयोगका ट्रकहरू गाजा प्रवेश गर्न दिने र गाजाबाट बिरामीहरू निकाल्ने व्यवस्था गर्नेछ । यसको बदलामा इजरायलले बाँकी सबै बन्धकहरूको जीवित रहेको प्रमाण र विस्तृत जानकारी मागेको छ ।

    युद्धविरामको नयाँ तहको वार्ता कतार र अमेरिकी मध्यस्थतामा दोहामा भइरहेको र स्थानीय समयअनुसार शनिबार दिउँसो सुरु भएको हो ।

    इजरायलले प्रस्तावित सम्झौताप्रति हालसम्म सार्वजनिक प्रतिक्रिया दिएको छैन । तर वार्ता अगाडि यसले गाजाबाट आफ्ना सैनिक हटाउने वा युद्ध अन्त्य गर्ने प्रतिबद्धता नलिने स्पष्ट पारेको थियो ।

    यसैबीच इजरायली सेनाले शनिबार नै अपरेसन गिदोन्स च्यारियट्स नामक नयाँ आक्रमण सुरु गरेको घोषणा गरेको थियो । दुईदिनदेखि गाजामा ठूलो हवाई हमला भएको छ । उक्त हमलामा परी उद्धारकर्मीहरूका अनुसार बिहीबारदेखि कम्तीमा ३०० जनाको मृत्यु भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images